सुशासन र पारदर्शिता अभिवृद्धिको अर्को अभ्यास सामाजिक परीक्षण

सुशासन र पारदर्शिता अभिवृद्धिको अर्को अभ्यास सामाजिक परीक्षण

दैलेख – सोसेक नेपाल दैलेखको अग्रणी गैसस हो । संस्थाका क्रियाकलाप ९२ प्रतिशत सेवाग्राहीले समुदायमा हुने छलफलबाट थाहा पाएका छन् र ६२ प्रतिशतले लैंङ्गिक तथा सामाजिकरुपमा पछाडि पारिएका जाति, वर्ग क्षेत्र र समुदायलाई सेवा पुराएको पत्रकार बिशाल सुनारले जानकारी दिनुभएको छ । 

सोमबार दैलेख सदरमुकाममा संस्थाले आयोजना गरेको सामाजिक तथा लैंगिक परीक्षण कार्यक्रममा १३ वटा पयिोजना चलाएको सोसेक नेपालका पदाधिकारी, कर्मचारी र प्रत्यक्ष लाभ पाइरहेका सेवाग्राहीहरु समेत एक सय २२ जना सहभागी रहेको जिल्ला सदरमुकामको जिसस सभाहलमा तेश्रो पक्ष परीक्षणकर्ता सुनारले यस्तो भनिरहनुभएको थियो । 

सामाजिक तथा लैंगिक परीक्षणको कामका लागि दुई साता लामो समय सोसेक नेपालको परियोजनाहरुको प्रभाव मूल्यांकनका लागि स्थानीय तहका जनप्रतिनिधि, कृषक, शिक्षक, आमा समूह, युवा, बालबालिका लगायतका ६० जना लाभग्राहीसंग ९ वटा प्रश्नावली रहेको फाराम भरेर, सम्वाद, सामूहिक अन्तरक्रिया समेतबाट सेवा प्रवाहको प्रभाव र उपलब्धीको स्तर मापन परिणाम उहाँले सुनाउनुभयो । 

महाबु गाउँपालिका–१ खरिगैराकी तारा मेदासी पनि एक सय २२ जना मध्येकी एक सहभागीले भन्नुभयो ‘ सोसेकको जलश्रोत परियोजनाले घरैघरै धारा र सरसफाई ज्ञान दिएको अब जीविकोपार्जन कार्यक्रममा सहयोगको अपेक्षा रहेको आशा व्यक्त गर्नुभयो । 

ठाँटीकाँध गाउँपालिका–६ का अगुवा किसान कलमबहादु शाही ‘बिहानी’ले सहकार्य परियोजना सञ्चालन भएको दुई वर्षमै व्यवसायिक कृषि र आधुनिक प्रविधि सिकाएपछि आफू र त्यहाँका किसानहरुको जीवन स्तर उठाएको सुनाउनुभयो । उहाँले भन्नुभयो ‘मैंले बाखा पालन गरें, कसैले तरकारी खेती अनि यस्तै धेरै सियौं ।’

भैरबी गाउँपालिका–२ रावतकोटका आयुश बिकले बालअधिकारको बारे आफूहरुलाई सोसेक नेपालको आधार परियोजनाले सिकाएपछि विद्यालयको शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, अभिभावक शिक्षा लगायतको जागरणले कोरोनाको बेला स्वास्थ्य शिक्षा सवालमा बालबालिकाले आचार सहिँता देशैभर प्रचार भयो । ‘सोसेक नेपालले शिक्षा, कर्तव्य र भविष्यको पथप्रदर्शन गरेको हामीले ठानेका छौं’ बिकले भन्नुभयो । 

सामाजिक तथा लैंगिक परीक्षण कार्यक्रममा परीक्षक पत्रकार बिशाल सुनारले जिल्लाका सबैजसो ठाउँमा यातायात पुगिसकेकोले कृषि उत्पादनमा बढावा दिनुपर्ने, भौतिक निर्माण र आयआर्जनका कार्यक्रमहरुमा ध्यान दिइनुपर्ने, परियोजनाले तोकेका बैठक, छलफलहरुका निर्णयहरु गर्ने प्रक्रियागत कामलाई अझैं व्यवस्थित गर्नुपर्ने र स्थानीय तहसंग अझैं समन्वय बढाउन सोसेकलाई सुझाव दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख केशवबहादुर शाहीले भने सोसेकले अझै अतिविपन्न नागरिकहरुको जीवनस्तरमा पनि सुधार ल्याउन सुझाव दिनुभयो । विकास पूर्वाधार र सचेतनाका काम अतिविपन्न नागरिकहरुले पाए नपाएको निश्चित गर्नपर्ने उपप्रमुख शाहीको टिप्पणी थियो । 

सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले परियोनाका लाभग्राही र कर्मचारीले गरेको परीक्षणमा पक्षधरता रहनसक्ने भएकोले तेश्रो पक्षबाट सामाजिक तथा लैंगिक परीक्षण गर्दै आएको बताउदै यो पटक १६ औं सामाजिक तथा लैंगिक परीक्षणले परियोजना क्रियाकलापको प्रभावकारीता र गुणस्तरीयतामा आएका सुझावले आगामी दिनमा थप सुधार गर्न मद्दत पुग्ने बताउनुभयो । 

विपन्न समुदायको जीवनस्तर उकास्न र मानवीय रुपमा सहयोग गर्न सधैं चिन्ता रहेको बताउदै यसरी लक्षित वर्गलाई सेवा र सहयोग पु¥याउन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवाला सबैको सहयोग चाहिएको सुनाउनुभयो । ‘कतिपय बेला हामीले निष्पक्ष गर्न लागि रहेको बेला हस्तक्षेप भोगेका छौं’ कार्यकारी निर्देशक थापाले टिप्पणी गर्नुभयो । 

सोसेक नेपालले साउनको दोश्रो साता हरेक वर्ष दुई दिन संस्थाका पदाधिकारी र कर्मचारीहरु सहभागी भएर परियोजना क्रियाकलापको समीक्षा र रणनीतिक कार्ययोजना निर्माण गर्ने अनि तेश्रो दिन चाहिँ सामाजिक तथा लैंगिक परीक्षण गर्ने गरिंदै आएको छ । 

सामाजिक परीक्षण कार्यक्रममा सोसेक नेपालले आफ्ना परियोजना र संस्थागत विकासका हरेक काममा पारदर्शिता र जवाफदेहिता अभिबृद्धि गरिएको सोसेक नेपालका अध्यक्ष मञ्जू खड्काले बताउनुभयो । ‘पारदर्शिता र जवाफदेहिता अभिबृद्धि अभ्यासकै क्रममा सामाजिक तथा लैंगिक परीक्षण गर्दै आएको छ’ अध्यक्ष खड्काले भन्नुभयो । 

२०५४ भदौ ११ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको सामाजिक सेवा केन्द्र (सोसेक)को नाम अब ‘सोसेक नेपाल’ नामाकरण गरेको छ । स्थापनाको २५ वर्ष अर्थात रजत वर्ष मनाइरहेको संस्थामा एक सय २० जना कर्मचारी मध्ये ७५ प्रतिशत महिला समेटिएका छन् । ११ जनाको कार्यकारिणी समितिमा दुई तिहाई अर्थात नेतृत्वमा अध्यक्ष ७ जना महिलाको प्रतिनिधित्व छ । 

महिला, बालबालिका, राउटे समुदाय, लैंगिक अल्पसंख्यकहरु समेतलाई समेटेर विभिन्न अन्तरराष्ट्रिय गैससहरुसंग साझेदारीमा १३ वटा परियोजनामा अघिल्लो आर्थिक वर्ष २०७९÷०८० को लागि बिनियोजित १५ करोड पाँच लाख मध्ये १४ करोड ३९ लाख आठ हजार एक सय ३१ रुपैंयाँ खर्च भएको सोसेक नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिनुभयो । 

दैलेख, सुर्खेत, कालिकोट र अछाम जिल्लामा प्रत्यक्ष काम गर्दै आएको सोसेक नेपालले सेफ गार्डिङ्ग पोलिसी, संस्था व्यवस्थापन नीति, कर्मचारीको सेवा तथा सुविधा सम्वन्धी आर्थिक प्रशानिक निर्देशिका, कार्यक्रम सञ्चालन आधारभूत मार्गदर्शन, श्रोत परिचालन तथा जोखिम व्यवस्थापन, लैंगिक तथा सामाजिक समावेशीकरण नीति, गुनासो सुनुवाइ संयन्त्र लगायत संस्थागत विकासका नीति, नियम र निर्देशिका बनाइसकेको सोसेक नेपाल सुशासन र पारदर्शिता अभ्यास गरेको गैसस हो । 
 

प्रतिक्रिया