निरंकुशता बिरुद्ध मिडियाले खेलेकाे भूमिका उल्लेखनीय
दैलेखः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसीले सबै किसिमका निरंकुशता र प्रतिगमन बिरुद्ध मिडियाले उल्लेखनीय भूमिका खेलेको बताउनुभएको छ । रेडियो मातृभूमिको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार दैलेखमा आयोजित कार्यक्रममा उहाँले मिडियाले परिवर्तनमा राजनीतिक दलहरुलाई सघाएको भन्दै प्रशंसा गर्नुभयो ।
मन्त्री बीसीले न्याय र सत्यताको पक्षमा उभिएर स्वयमसेवी काम गर्दै आएको मिडिया अभाव र असजिलोमा गुज्रिएको आफूलाई थाहा भएकोले सक्दो सहयोग गरिरहेको सुनाउनुभयो । उहाँले पत्रकारितामा आत्मसमीक्षा र निष्पक्षताको संकल्प जरुरी रहेको बताउनुभयो ।
त्यसबखत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नबिन रिजालले अघोषित रुपमा चौथो अंग भन्ने गरे पनि राज्यले मिडियालाई सधैं पूर्वाग्रह र असहयोगी व्यवहार देखाइरहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले पत्रकारहरुको व्यवसायिक क्षमता बढाउन जरुरी रहेको औल्याउनुभयो ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले पत्रकारहरुप्रति मात्र औंला उठाउने गरिएको भन्दै कर्मचारी तन्त्र, राजनीतिक नेतृत्वको खराबी र बिकृति पत्रकारितामा पनि पसेकोले सबैतिर शुद्धिकरणको जरुरी रहेको बताउनुभयो ।
रेडियो मातृभूमिका अध्यक्ष मनोज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु पुस्कर थापा, भीम सिजापति, तीर्थ भण्डारी, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाही, जिल्ला हुलाक अधिकृत निर्मला थापा, प्रशिक्षार्थी पत्रकार गंग अधिकारीले पनि बोल्नुभएको थियो ।
प्रतिक्रिया