काँग्रेस केन्द्रीय सदस्य नेपाली दैलेखका एघारै पालिका पुग्दै

काँग्रेस केन्द्रीय सदस्य नेपाली दैलेखका एघारै पालिका पुग्दै

दैलेख – नेपाली काँग्रेस दैलेखले पार्टी संगठनलाई शसक्त, जुझारु र प्रतिस्पर्धी बनाइराख्न जिल्ला, निर्वाचन क्षेत्र, प्रदेश क्षेत्र, पालिका नेतृत्वलाई चलायमान बनाउन संगठन परिचालन गर्ने भएको छ । पार्टी केन्द्रको निर्देशन बमोजिम संगठन परिचालन अभियान योजना बनेको नेपाली काँग्रसका जिल्ला सभापति मणिराम रेग्मीले बताउनुभयो । 

पालिका, वडा र टोल स्तरका समितिको बैठक बसाली आवश्यक निर्देशन दिने, कार्यसमिति पूर्णता नभएको भए पूर्णता गराउने, पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीच चुनावी घोषणापत्र कार्यान्वयन गराउन पहल गर्ने, भदौ १ गतेदेखि क्रियाशील सदस्यता वितरण थाल्ने कार्यसूची छ । 

संगठन परिचालन अभियान योजना अनुसार गरिएका हरेक गतिविधिको माथिल्लो कमिटीलाई प्रतिवेदन पठाउने पद्धति कडाईका साथ कार्यान्वयन गरिने नेपाली काँग्रेस दैलेखका सचिव नारायण रेग्मीले ज्वालासन्देशलाई जानकारी दिनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय ससस्य मानबहादुर नेपाली, कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बीसी, पूर्वमन्त्री हिमबहादुर शाही, प्रदेशसभा सदस्य घनश्याम भण्डारी, इन्द्राकुमारी शाही, नेपाली काँग्रेसका कर्णाली प्रदेश सदस्य निर्मला थापा लगायतका नेताहरुको सहभागितामा साउन २१ गते दैलेख सदरमुकाममा बृहत छलफल भयो । 

केन्द्रीय ससस्य नेपालीले पार्टी सत्तामा भएको बेला जनताप्रति सुशासन र सेवा सुविधाको सहज उपलब्धता सवाल, पार्टीको संगठन परिचालनका विषयमा सहजीकरण गर्नुभयो । बदलिएको परिवेश, सूचना र प्रविधिको युग अनुकूल पार्टी संगठन पद्धति चल्नुपर्ने उहाँले काँग्रेसका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । 

काँग्रेस हरेक जिल्लामा केन्द्रीय सदस्य खटाई पालिका स्तरसम्म साँगठनिक क्रियाकलाप गर्ने कार्यसूची अनुसार रुकुम पश्चिमको आठबीसकोट निवासी नेपाली काँग्रेसका केन्द्रीय ससस्य मानबहादुर नेपालीलाई पार्टीले दैलेखमा खटाएको छ । उहाँ राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष हुनुहुन्छ । 

दैलेख सदरमुकाममा जिल्ला नेतृत्वसंग साउन २१ गते आइतबार छलफल गर्नुभएका नेपालीले साउन २२ गते दुल्लू, २३ गते आठबीस, २४ गते ठाँटीकाँध, २५ गते चामुण्डाबिन्द्रासैनी, २६ गते भैरबी, २७ गते महाबु, २८ गते नौमूले, २९ गते भगवतीमाई, ३० गते डुंगेश्वर र साउन ३२ गते गुराँस गाउँपालिका पालिका स्तरका काँग्रेस काँर्यकर्ताहरुसंग संगठन परिचालन अवस्था र भावी रणनीति बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने कार्यसूची रहेको जानकारी दिइएको छ । 


 

प्रतिक्रिया