आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ?

आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ?


काठमाडौँ -   देशभर नै केही दिनयता आँखा पाक्ने रोगको प्रकोप तीव्र रूपमा फैलिएको छ । ‘भाइरल इन्फेक्सन’का कारण हुने यो रोग लाग्दैमा आत्तिनु पर्दैन, सचेत भए एक हप्तामा नै पूर्णरूपले निको हुने हिमालय आँखा अस्पतालका निर्देशक डा.इलिया श्रेष्ठले बताउनुभयो  ।

उहाँका अनुसार सबै उमेर समूहमा हुने आँखा पाक्ने रोगका मुख्य लक्षण उज्यालोमा हेर्न अप्ठ्यारो हुनु, बिजाउने, आँखा रातो हुनु, आँसु बग्नु, चिप्रा लाग्ने गर्छ । यस्ता लक्षण देखिएमा तुरुन्त आँखा परीक्षण गरेर चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न अपरिहार्य छ ।

‘आँखा पाकेको बिरामीको आँसुको थोपामा भाइरसको जिवाणु हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यस्ता बिरामीले प्रयोग गरेका रुमाल, तकिया, मोबाइल, चश्मा, औषधि लगायत विभिन्न सामग्रीबाट रोगको संक्रमण तीव्र रूपमा फैलिने गर्दछ ।’ उहाँका अनुसार एकआपसमा आँखा जुदाउँदा र हावाबाट यो रोग सर्दैन ।

सफा चिसो पानीले आँखा सफा गर्ने, साबुन पानीले राम्रोसँग हात धुने र स्यानिटाइजरको प्रयोग गर्दा रोग फैलिनबाट जोगाउन सकिन्छ । ‘भाइरल कन्जंक्टिभाइटिस’ रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । संक्रमण यसको प्रमुख कारण हो ।

आँखा पाक्ने रोगबाट विशेष गरी बालबालिकामा प्रकोप बढी देखिएको हुँदा आँखामा समस्या देखिएका बालिबालिकालाई विद्यालय नपठाई घरमा नै आराम गराउन अस्पतालमा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सुझाव दिनुभयो  ।

अस्पतालका निर्देशक डा.श्रेष्ठले भन्नुभयो, ‘संक्रमण फैलिएसँगै अस्पतालमा आँखाका बिरामीको भीड नै लाग्ने गरेको छ ।’ आइतवार मात्र एक हजार ३५० जनाको आँखा परीक्षण गरिएकोमा ५०० जनामा आँखा पाक्ने समस्या देखिएको थियो । जसमा ३६० बालबालिकामा संक्रमण देखिएको थियो ।

सामान्य अवस्थामा अस्पतालमा सरदर दैनिक ७०० जनाको आँखा परीक्षण हुँदै आएको थियो । विगतको भन्दा यसपटकको संक्रमण कडा हुनुको साथै आँखा रातो मात्र होइन, परेला सुनिने गरेको हुँदा बिरामीलाई दुखाइ बढी हुने गरेको छ । समुदायस्तरमा फैलिएको यसको रोगथामको लागि करीब एक हप्ता विद्यालय बन्द गर्नुपर्ने उहाँको सुझाव छ ।

रोगको संक्रमण देखिएपछि जथाभावी औषधिको प्रयोग र आँखा मिच्न नहुने सल्लाह दिँदै डा. श्रेष्ठले भन्नुभयो, ‘भाइरल कन्जंक्टिभाइटिसले आँखाको नानीसम्म संक्रमण भयो भने उज्यालोमा हेर्न अप्ठ्यारो हुनुको साथै निको हुन लामो समय लाग्छ ।’

नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार सीमित स्रोतसाधन एवं जनशक्तिको अधिकतम उपयोग गर्दै अस्पतालले बिरामीको लागि आँखा उपचारको सेवा पुर्याउँदै आएको छ । आँखा पाक्ने बिरामीको संख्यामा क्रमिक रूपमा बढेपछि संक्रमण न्यूनीकरणका लागि आँखा पाकेका बिरामीलाई मात्र छुट्टै परीक्षण गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

के गर्ने ?

-आँखा चिसोले तथा बरफले सेक्ने ।

-सफा पानीले आँखा सफा गर्ने ।

-घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने ।

सङ्क्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने ।

 के नगर्ने ?

-सङ्क्रमित आँखालाई सकेसम्म नचलाउने ।

-स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने ।

-अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने ।

-आफूखुसी औषधिको प्रयोग नगर्ने । 

प्रतिक्रिया