प्लास्टिकका भाँडाको प्रयोग बढेपछि घट्दो काठका ठेकीको प्रयोग

गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन प्रयोग

प्लास्टिकका भाँडाको प्रयोग बढेपछि घट्दो काठका ठेकीको प्रयोग


सुर्खेत -  दैलेखको ठाटीकाँध गाउँपालिका -२ का कलम थापा पहिले घरमा दुइ तीनवटा भैँसी पाल्नुहुन्थ्यो । त्यही अनुसार आठ दश वटा ठेकी दही दुध पनि हुन्थ्यो । तर, पछिल्लो समय बजारमा आउने प्लाष्टिकको भाडा प्रयोगमा आउन थाले र काठमा भाडा लोप हुन थाले पछि चिन्तित हुनुहुन्छ । विगतको स्मरण गर्दै उहाँले सम्झिनुभयो प्लास्टिकमा जमाएको दही र काठको भाँडामा जमाएको दहीको स्वादै धेरै अन्तर हुने बताउनुभयो ।  

पछिल्लो समय दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ। किसानले गाईभैँसी पाल्न छाडेपछि गाउँबस्तीमा ठेकी कमै मात्र प्रयोगमा आउन थालेको उहाँले बताउनुभयो ।

 पहिला पहिला प्लास्टिक तथा सिल्भर र स्टीलका भाँडा खासै भेटिन्न थियो । जसका कारण काठबाट बनेका बस्तुहरू चलनचल्तीमा आउँथे । तर अहिले जताततै प्लास्टिकजन्य बस्तुको प्रयोग बढेका कारण पनि काठबाट बनेका बस्तुहरू लोप हुन थालेको उहाँ बताउनुहुन्छ ।

त्यस्तै दैलेखको आठबिस नगरपालिका -२ का कपुरे शाही पनि पहिले पहिलेका दिन सम्झिदै अहिले दिक्क मान्ने गरेको बताउनुहुन्छ । पहिले काठका भाडामा दूध दही महि राखिन्थ्यो अहिले बजारमा प्लाष्टिकका भाडा सस्तोमा पाउन थालेपछि काठका भाडा ओझेलमा परेको उहाँ बताउनुहुन्छ ।

 त्यसो त पछिल्लो समय बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि पनि काठका ठेकी प्रयोगमा कमी आएको हो। गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ। यसले गर्दा परम्परागत गिठो, खिरोलगायत नरम काठबाट स्थानीयस्तरमै उत्पादन हुने काठका ठेकी लोप हुन थालेका छन् ।

उहाँले भन्नुभयो, “पहिला प्लास्टिक, सिल्भर र स्टीलबाट बनेका भाँडाहरूको सट्टामा गाउँकै सामुदायिक वन र व्यक्तिको बारीको कान्लामा हुने ठुलो रुख कटहर र दारका काठबाट ठेकीहरू निमार्ण हुने गर्दथ्यो । तर अहिले गाउँमा काठको अभाव एकातिर छ भने यो पेसामा लाग्ने व्यक्तिहरू समेत पलायन हुन थालेका छन् ।”

जाजरकोटको नलगाड नगरपालिका–४ का मालबहादुर खत्रीका अनुसार विगतमा दुध बिक्री हुँदैनथ्यो । दुध जमाउन ठेकी प्रयोग हुन्थ्यो। अहिले बजारमा दुधकै माग बढेपछि दुध जमाउने र घिउ बनाउने कार्य प्रायः किसानले छाडिसकेको उहाँले बताउनुभयो । भैँसीबाट राम्रो आम्दानी हुने देखेपछि पाँचवटा भैँसी पालेको छु। दुध बजारमा बिक्री हुन्छ, उहाँले भन्नुभयो, “दुध जमाउनु नै पर्दैन। घरमा एक थोपा दुध रहँदैन, के गर्न ठेकी राख्ने ?”

नलगाड–४ का लालबहादुर वलीका अनुसार विगतमा सबै घरमा भैँसी हुन्थे। दुध बिक्रीवितरण हुँदैनथ्यो । दुध जमाएर दही घिउ बनाइन्थ्यो। पछिल्लो समय दुध बजारमा जाने भएपछि ठेकी विस्थापित भएका हुन्।

प्रतिक्रिया