सम्पादक सुनारलाई डेकेन्द्र स्मृति पुरस्कार
दैलेख – नेपाल पत्रकार महासंघ दैलेखले यो वर्षको डेकेन्द्र स्मृति पुरस्कार ज्वालासन्देसका सम्पादक दैलेखका अग्रज पत्रकार अमर सुनारलाई दिइएको छ । डेकेन्द्र थापाको १९ औं स्मृति दिवसका अवसरमा आज जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा उहाँलाई उक्त पुरस्कार दिइएको हो ।
२०५२ सालदेखि डेकेन्द्रले रेडियो नेपालको जिल्ला सम्वाददाता सुरुवातदेखि पत्रकारिता र सामाजिक काममा सहपाठी पत्रकार सुनार अठ्ठाइस वर्ष अघि रासस, कान्तिपुर दैनिक, स्पेसटाइम, अन्नपूर्ण, इन्सेक अनलाइन हुँदै अहिले ज्वालासन्देसका सम्पादक हुनुहुन्छ ।
स्मृति दिवसका प्रमुख अतिथि कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका अध्यक्ष साँसद घनश्याम भण्डारीले दैलेखमा तीन दशकदेखि पत्रकारिता गरिरहनुभएका सुनारलाई दिइएको यो पुरस्कार पाउने व्यक्ति र दिने संस्था दुवैलाई न्याय भएको बताउनुभयो ।
कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन हमाल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल जैसी, नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारले स्वर्गीय पत्रकार डेकेन्द्रको सामाजिक सेवा बारे प्रकाश पार्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ दैलेखका जिल्ला अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य नबिन रिजाल, पूर्व अध्यक्ष पुस्कर थापा, पत्रकारहरु बिशाल सुनार, अभिशेक अनुराग लगायतले पत्रकार डेकेन्द्रको हत्या घटना र न्यायको लडाईँ सन्दर्भमा धारणा राख्नुभएको थियो ।
तत्कालिन सशस्त्र युद्धरत नेकपा माओवादी २०६१ असार १२ गते नारायण नगरपालिका–४ सोतबाट अपहरण गरी डेढ महिनापछि २०६१ साउन २७ गते अहिलेको नौमूले गाउँपालिका–३ द्वारीको एक विद्यालय हातामा यातना दिइ हत्या गरेको थियो ।
डेकेन्द्र हत्या घटनाको न्यायिक संघर्ष
डेकेन्द्र श्रीमति लक्ष्मी थापाले २०६५ भदौ १३ गते दैलेख प्रहरीलाई डेकेन्द्रका हत्या गर्ने तत्कालिन माओवादी कार्यकर्ता मुक्ति भन्ने बमबहादुर खड्का लगायतका ४ जनाका नाममा किटानी जाहेरी दिनुभयो । किटानी जाहेरी दिएको साढे ४ वर्षपछि प्रहरीले मुद्दाको अनुसन्धान सुरुवात गरेको थियो ।
तत्कालिन अपराध अनुसन्धान अधिकृत प्रहरी इन्स्पेक्टर बिनोद शर्माले घटनास्थल पुगेपछि जाहेरी तोकिएका भन्दा तत्कालिन अरु माओवादी कार्यकर्ताको पनि संलग्नता खुल्यो । इन्स्पेक्टर शर्माले अनुसन्धानबाट संलग्नता खुलेका निरकबहादुर घर्ती, हरिलाल पुन, जयबहादुर शाही र बीरबहादुर केसीलाई २०६९ पुस २० गते पक्राउ गरी घटनाको अनुसन्धान थालिएको थियो ।
अहिले दुल्लू नगरपालिका–६ का अरुण भन्ने बमबहादुर खड्का र केशव खड्का, भगवतीमाई गाउँपालिका–६ मुक्ति भन्ने बमबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछाने समेत ४ जनाको विरुद्ध डेकेन्द्र श्रीमति लक्ष्मीले किटानी उजुरी गर्नुभएको थियो ।
मुद्दा सन्दर्भमा ०७१ मङ्सिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई÷दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई १वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् ।
अदालतले २०७८ पमंसिर २६ गते पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न मुख्य दोषी दुल्लू नगरपालिका–६ छिउडीपुसाकोटका भन्ने बमबहादुर खड्का ‘अरुण’, हाल ’फरार’ रहेका भगवतीमाई गाउँपालिका–६ का ‘मुक्ति’ भन्ने बमबहादुर खड्कालाई जन्मकैदको फैसला गरेको थियो । अर्का ’फरार’ बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला भएको छ ।
डेकेन्द्रका पारिवारिक विवरण
डेकेन्द्रको अभावमा उहाँकी श्रीमति लक्ष्मी थापा (४९), ठूली छोरी इञ्जिनियर नूतन थापा (२७), अहिलेबीएस्सी सकेर नसिंङ काम गर्दैगरेकी निशा थापा (२५) र छोरा निराजन विक्रम थापा (२२)का लागि हरेक सुखदुखमा खड्किइरहन्छ ।
डेकेन्द्रको हत्याकै कारण जेठी छोरी नूतन थापाको छोरी अर्थात नातिनी प्रिन्सीलाई देख्न पाउनु भएन । मोरङका इञ्जिनियर सुधीर निरौलासंग पाँच वर्ष अघिको वैवाहिक सम्वन्धपछि २०७७ फागुन २४ गते अन्तरराष्ट्रिय महिला दिवसको दिन डेकेन्द्रको पहिलो नातिनी प्रिन्सी निरौलाको जन्म भएको हो ।
माओवादीले पत्रकार मारिएको घटनामा ठूलो आलोचना खेप्नु पर्ने डरले ४ दिनपछि मात्र साउन ३१ गते सार्वजनिक विज्ञप्ती जारी गरेको थियो । २०६० चैत १ गते तत्कालिन राजा ज्ञानेन्द्रको दैलेख भ्रमण कार्यक्रममा उद्घोषक भएको, माओवादी विरुद्ध सुराकी गरेका जस्ता आरोप लगाई हत्या गरेको थियो ।
डेकेन्द्रलाई मारिएको ठाउँ देखाए पत्रकार हत्याको आलोचना झन धेरै चोटिलो हुनसक्छ भनेर तत्कालिन नेकपा माओवादीले हत्या भएको ठाउँ र शवको अवस्था जनाउन चाहेन । माओवादीले त्यति नै बेला ‘हत्या गर्ने योजना नभई सामान्य नैसियत दिंदा नै संयोगले ज्यान गयो’ भनी पार्टीको केन्द्रीय नेतृत्वले माफी मागेको थियो ।
प्रतिक्रिया