इन्सेकद्वारा मानव अधिकार सवालमा विभिन्न निकायसंग छलफल
दैलेख - अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले दैलेखको मानव अधिकार अवस्था लगायतका विषयमा सरोकारवाला निकायसंग छलफल गरेको छ । इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुबेदीको नेतृत्वको टोलीले आइतबार नारायण नगरपालिका, गुराँस गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा भेटघाट गरी मानव अधिकार प्रवद्र्धन सवालमा छलफल गरेको हो ।
संयोजक सुबेदी, अधिकार–२ परियोजना कार्यक्रम अधिकृत परिस्कृत पौडेल, प्रलेख अधिकृत पुरनप्रसाद चौधरी लगायतको टोलीले नारायण नगरपालिकाका मेयर लोमन शर्मा, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी, प्रमुख जिल्ला अधिकारी गोेगनबहादुर हमाल र जिल्ला प्रहरी कार्यालयका प्रहरी इन्स्पेक्टर दिपकसिंह बिष्टसंग मानव अधिकार सवालमा छलफल गरेको हो ।
नारायण नगरपालिकामा पाँचौं राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन स्थानीय समितिको क्रियाशीलता, नगरपालिकाले गरिरहेका कार्यक्रमहरु छलफल भएको थियो । गुराँस गाउँपालिका–८ नवलसिंह खड्काको परिवार दुई वर्षदेखि बिस्थापित भएको घटना सम्वन्धमा अध्यक्ष बीसी, प्रमुख जिल्ला अधिकारी हमाल र प्रहरी इन्स्पेक्टर बिष्टको ध्यानाकर्षण गराएको थियो ।
इन्सेक कर्णाली प्रदेश कार्यालयले सशस्त्र युद्ध पीडित परिवारलाई भेटघाट, भैरबी गाउँपालिका १ नं. वडाकार्यालयमा महिला माथि हुने हिंसा र जातीय विभेद बिरुद्ध सचेतना कार्यक्रम, नारायण नगरपालिकाको पाँचौं राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन छलफल र जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालसंग छलफल गर्ने कार्यक्रम तय भएकाे इन्सेक जिल्ला प्रतिनिधि सुनिता सुनारले जानकारी दिनुभयाे ।
प्रतिक्रिया