पानीको भल पस्ने कक्षाकोठामा बस्न विद्यार्थी बाध्य

पानीको भल पस्ने कक्षाकोठामा बस्न विद्यार्थी बाध्य

सिमकोट – जिल्लाको मध्यक्षेत्रको ग्रामीण बस्तीमा पर्ने एक विद्यालयका विद्यार्थी पानीको भल पस्ने कक्षाकोठामा बस्न बाध्य हुँदै आएका छन्।

पानी परेका बेला कक्षाकोठामै भल पस्ने गर्छ। अन्य विकल्प नभएपछि भल पसेकै कक्षाकोठामा बसेर पढ्न बाध्य भएका हुन्।

सर्केगार्ड गाउँपालिका– ५ को गोठी गाउँका स्थानीय सूर्यबहादुर शाहीले धुमचुली प्राथमिक विद्यालयका कक्षा कोठामा पानीको भल पस्ने र तिनै कोठामा विद्यार्थी अध्ययन गर्न बाध्य हुँदै आएको बताउनुभयो ।

भिरालो जमिनमा विद्यालय भवन निर्माण गरिएको र भवनको पछाडि भागको माटो काटेर फालिए पनि पानी भित्र पस्ने गरेकाले समस्या रहेको बताउनुभयो ।

प्रधानाध्यापक लोकेन्द्र मल्लले पानी पर्नेबित्तिकै कक्षामा भल पसेर पठनपाठनमा समस्या आउने गरेको जानकारी दिए। विद्यालयका भवन दुई वटा भएको र त्यसमा दुई र तीन कोठा गरी पाँच वटा कक्षाकोठा छन् ।

उहाँले सबै कोठामा पानी पस्ने भएकाले धेरै ठूलो भल पसे पढाइ नै बन्द गर्ने गरेको र कम पानी पसेमा त्यसैको छेउमा बेन्चमा विद्यार्थीलाई राखेर पठनपाठन सुचारु गरिएको बताउनुभयो ।

बालविकास विद्यार्थी भुइँमा बसेर अध्ययन गर्ने भएकाले पानी पर्नेबित्तिकै बिदा गर्ने गरिएको छ। सय जना विद्यार्थी भएको सो विद्यालयले तीन वर्षदेखि यसरी बर्खाको समयमा उक्त समस्या भोग्दै आएका छन् ।

प्रधानाध्यापक मल्लले कक्षामा पानी पस्ने समस्या समाधानका लागि वडा, गाउँपालिका, शिक्षा क्षेत्र हेर्ने गैरसरकारी संस्थालाई सहयोग माग्दा कतैबाट सुनुवाइ नभएको बताउनुभयो । नयाँ भवन निर्माण नगरे पनि भवनको पानी पस्ने भागमा सिमेन्टको ढल बनाएर पानी दाँया बाँया पठाउन सकिए मात्र पनि समस्या समाधान हुने उहाँको भनाइ छ।-देश सञ्चार

प्रतिक्रिया