दुर्गममा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न खाजाको व्यवस्था

दुर्गममा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न खाजाको व्यवस्था

हुम्ला – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले कार्यालयमा काम गर्ने कर्मचारीलाई दिउँसो खाजाको व्यवस्था गरेको छ। दिनभर काम गर्ने कर्मचारीलाई कामप्रति जिम्मेवार र उत्तरदायी बनाउन गाउँपालिकाले दिउँसो खाजाको व्यवस्था गरेको हो।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले गाउँपालिकाको कार्यालयमा कार्यरत सबै कर्मचारीका लागि दिउँसो खाजाको ब्यवस्था गरिएको बताउनुभयो ।

दुर्गममा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न र गाउँपालिकामै बसेर काम गर्ने वातावरण तयार गर्न यो व्यवस्था गरिएको हो । हाललाई यो खाजा खुवाउने कार्य गाउँपालिका केन्द्र याल्वाङमा रहेको कार्यालयमा दैनिक उपस्थिति भएर हाजिर भएका कर्मचारीलाई गरिएको छ। यस कार्यबाट कर्मचारीको जनताको काम गर्ने मनोबल बृद्धि हुने र काममा खटिन उत्प्रेरणा मिसोल भन्नका लागि यो व्यवस्था गरिएको अध्यक्ष लामाले बताउनुभयो । कार्यालयमा हाजिर नभएको दिनमा भने खाजाको सुविधा कर्मचारीले पाउने छैनन्।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले एक जना कर्मचारीका लागि खाजामा बढीमा दुई सय रुपैयाँ खर्च गर्न सकिने गरी खाजा खुवाउने ब्यवस्था गरिएको जानकारी दिनुभयो । यो कार्यले काम गर्ने कर्मचारीलाई प्रोत्साहन र कार्यालयमा उपस्थिति नहुने कर्मचारीलाई सुविधाबाट वञ्चित गर्ने प्रयास गरिएको छ।

सो कुरा गाउँपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरेर व्यवस्था गरेको हो। गाउँपालिकाको कार्यालयमा ३० जना कर्मचारी कार्यरत छन्। उहाँले कर्मचारी कार्यालयमा बस्न नमान्ने भएका कारण केही सुविधा दिएर भए पनि कार्यालयमा उपस्थिति बढाउन यो कार्य गरिएको बताउनुभयो ।

हाललाई परीक्षणका रुपमा यो कार्य स्वास्थ्य संस्था र विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका हकमा भने लागू हुने छैन । कर्मचारीलाई प्रोत्साहन गर्ने भन्दै नाम्खा गाउँपालिकाले अतिरिक्त भत्ताको समेत व्यवस्था गर्दै आएको छ।-देश सञ्चार

प्रतिक्रिया