मनाङका किसानले थाले स्याउ टिप्न

मनाङका किसानले थाले स्याउ टिप्न

मनाङ – हिमाली जिल्ला मनाङका किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।

मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासोँ गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ’, उहाँले भन्नुभयो । टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षितरूपमा बजारसम्म पुर्‍याउने गरिएको उहाँले बताउनुभयो । 

त्यस्तै नासोँ–९ मा रहेको  दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ ।

त्यसैगरी किसान सङ्गीता गुरुङ तमुले स्याउ टिपेर बजारमा पुर्‍याउन प्याकेजिङको काम भइरहेको बताउनुभयो । मनाङमा उत्पादित स्याउ नेपालकै विभिन्न बजारमा खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । ‘स्याउ स्वादिलो र रसिलो हुने हुँदा स्थानीय बजारमा नै खपत हुन्छ, विदेशसम्म पुग्नै पाउँदैन’, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित स्याउ बजारसम्म सुरक्षितरूपमा सग्लै पुर्‍याउन भने कठिन छ । सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ पूरै बिक्री हुन नपाएको किसान सोलबहादुरले बताउनुभयो । ‘बाटोका कारणले बिक्रीका लागि ल्याइएकामध्ये आधा फाल्नुपर्ने अवस्था छ, बजारसम्म पुग्ने सडक सहज भइदिएको भए किसान खुसी हुने थिए’, उहाँले भन्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ विशेषगरी काठमाण्डौ र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिनुभयो । ‘लामो बाटो छ, सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्, बाटो सहज भएमा यहाँका किसानको आय अझ वृद्धि हुन्छ’, उहाँले भन्नुभयो ।

यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पुर्‍याउन सकस रहेको छ । बाटो सहज बनाउन समय लाग्ने भएमा यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था रहेको छ । अहिले सडक अवरुद्ध भएमा तत्कालै सहज बनाउनका लागि डुम्रे–बेसीसहर–चामे सडक आयोजना कार्यालयले विभिन्न ठाउँमा एक्स्काभेभेटर राखेर सहज बनाउने काम गरेको छ ।-रासस

प्रतिक्रिया