श्रीमति हत्याको कसूरमा जन्मकैद

श्रीमति हत्याको कसूरमा जन्मकैद
सुन्नुहोस्

दैलेख - जिल्ला अदालतले छ महिना अघि श्रीमतिको हत्या गरेको कसूरमा गुराँस गाउँपालिका–८ लालीकाँडाका २९ वर्षीय कृष्णबहादुर खड्कालाई शुक्रबार जन्मकैद सजाय गरेको छ । 

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदारलाई जन्मकैद सजाय भएको अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो । 

०७९ फागुन १ गते २७ वर्षीया श्रीमति पार्वती बीसीको हत्या गरेको पुष्टि भएको भन्दै कसूरदारलाई जन्मकैद (२५ वर्ष) काराबास बस्नुपर्ने र पीडित राहत कोषमा २८ सय रुपैंयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको फैसलामा उल्लेख छ ।  

घरायसी विवादमा सुत्ने कोठामा त्यो राति लाठी घातक बस्तुले हिर्काइ हत्या गरेको अवस्थामा फेला परेको मृतकको शव फागुन २ गते दैलेख अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।

कृष्ण बोल्न नसक्ने अनि कान नसुन्ने र पार्वती चाहिँ सुस्त मनस्थिति हुनुहुन्थ्यो । उहाँहरूकाे विवाह ०७९ मंसिर २६ गते भएकाे थियाे । 

पार्वतीका ससुरा धर्मबहादुर खड्काले अस्पतालबाट शव बुझी फागुन २ गते नै लिएको र फागुन ३ गते गर्चाखोला मिलनचौक चिहानमा हिन्दू धार्मिक परम्परा अनुसार दाहसँस्कार गरिएकाे थियाे । 

घटनाको सम्वन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले फागुन २६ गते दैलेख जिल्ला अदालतमा कर्तव्य ज्यान अभियोग दर्ता गराएको थियो ।

फागुन २८ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागार पठाएको थियो । 

प्रतिक्रिया