यातनापछि दुई कैदीको मृत्यु घटनामा प्रहरीसहित १२ जना विरुद्ध मुद्दा दर्ता

संखुवासभा जिल्ला कारागारभित्र निर्मम यातनापछि दुई जना कैदीको मृत्यु घटनामा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।
यातना दिई कैदीको हत्या गरेको आरोपमा प्रहरी सुरक्षाकर्मी, चौकीदासर र कैदीसहित १२ जना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ ।
कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको तथ्यका आधारमा उनीहरुलाई कर्तव्य ज्यान मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरेन्द्र गोदारले बताउनुभयो ।
जिल्ला कारागारका दुई जना कैदीको ०८० साउन २४ गते मृत्यु भएकै दिन गृह मन्त्रालयले कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा पाँच सदस्यीय छानविन टोली बनाएको थियो ।
टोलीले कैदी मृत्यु घटनामा प्रत्यक्ष संलग्न देखिएका पाँच जना प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।
कारागार सुरक्षा इञ्चार्ज असई लक्ष्मी चौधरीमाथि जिल्ला अदालतबाट ०८० भदौ १ गते दोस्रो पटक पुनः म्याद थप गरेर अनुसन्धान भइरहेको छ । असई चौधरीसहित ११ जना विरूद्ध मुद्दा दर्ता गरिएको छ ।
पीडित पक्षले दिएको अघिल्लो मंगलबार दिएको किटानी उजुरीका आधारमा असई चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरूद्ध जिल्ला अदालतले साउन २८ गते गिरफ्तारीका लागि अनुमति दिएको थियो । कारागारका निमित्त प्रमुख घिमिरेलाई हालसम्म गिरफ्तार गरिएको छैन ।
कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते बिहान मृत्यु भएको थियो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ जना कैदीबन्दी छन् ।
प्रतिक्रिया