नाम्रावासी भेरीको धमिलो पानी खान बाध्य

नाम्रावासी भेरीको धमिलो पानी खान बाध्य

सल्यान -   वर्षा होस् या अन्य कुनै याम नाम्रावासीलाई दूषित पानी खानुपर्ने बाध्यता छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ नाम्रावासीका लागि खानेपानी भनेकै भेरीमा बग्ने पानी हो।

तीन वर्षअघि निर्मित खानेपानी योजना बिग्रिएपछि नाम्राका ६० भन्दा बढी घरधुरीले भेरीको पानी उपभोग गर्दै आएका छन्। खानेपानीको लाइनबाट सिँचाइ कुलो ल्याउँदा च्यापिएको, ठाउँठाउँमा पाइप फुटेको र केही ठाउँमा जाम लाग्दा विगत तीन महिनादेखि खानेपानी योजना अलपत्र परेको मनिराम वि.क.को भनाइ छ।

कुनै निकायले २ किलोमिटर खानेपानी पाइप उपलब्ध गराएमा पुनः खानेपानी योजना सञ्चालन गर्न सकिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘वास्तवमा अहिलेका जनताले श्रमदान नगर्ने, सबै अर्कैले गरिदेओस् भन्ने बुझाइले गर्दा यस्तो समस्या आएको हो ।’

३ महिनादेखि फेरि उही पुरानो समस्या फर्किएर आएको ७६ वर्षीया खगपति शर्माले दुखेसो गर्नुभयो । उहाँल भन्नुभयो, ‘बिहे गरी यो ठाउँमा आएको ६० वर्ष भयो। त्यो दिनदेखि भेरी नदीको धमिलो पानी खाँदै आएका थियौँ। गाउँमा योजना आएपछि खानेपानी धारामा आउँदा घरमै खाने, नुहाउने धेरै सजिलो थियो। फेरि योजना बिग्रिएपछि भेरीकै पानी खान बाध्य भयौँ।’

बूढाबूढीहरू धेरै टाढा जान नसक्ने भएकाले भेरीकै पानी खाने गरेको बताउनुभयो । तन्नेरीहरू पारी सुर्खेतको सिम्ता गाउँपालिका–४ बाली खोला व्यक्तिको घरमा गएर पानी ल्याएर खाने गरेको तर आफूहरू भने भेरी नदीको पानी खान बाध्य भएको रत्ना परियारले बताउनुभयो ।

पुल तरेर अर्को जिल्ला जाँदा राम्रो नहुने, विभिन्न खाले वचन सुन्नुपर्ने र साथै ६०–६५ घरधुरीलाई एउटा व्यक्तिले ल्याएको खानेपानीले समेत नपुग्ने र उनलाई समेत समस्या हुने भएकाले आफैँलाई नराम्रो लाग्ने स्थानीय वीरबल पोखरेलले बताए। उनका अनुसार पुर्खाका पालादेखि खाँदै आएको भेरी नदीको पानी खान कहिले नछुट्ने भयो।

गाउँ माथि छ तलतिर भेरी नदी छ। यो ठाउँमा लिफ्ट खानेपानी भएमा असाध्य राम्रो हुने बालकुमारी वलीको भनाइ छ। उहाँले भन्नुभयो, ‘भेरी नदीको धमिलो पानी पिउँदा झाडापखाला, ज्वरो लगायत विभिन्न खाले रोग लाग्ने गरेको छ।’

आफूहरूलाई बिजुलीभन्दा सोलारको माध्यमबाट लिफ्ट खानेपानी व्यवस्था गरिदिए असाध्य राम्रो हुने उहाँको कथन छ। बिजुलीबाट धेरै पैसा तिर्नुपर्ने भएकाले सोलारबाटै उत्तम हुने उहाँको भनाइ छ।

६ किलोमिटर टाढाबाट खानेपानी ल्याउँदा यसको दिगो विकास हुन नसकेको गङ्गा प्रावि नाम्राकी प्रधानाध्यापक चित्रकला शर्माले बताउनुभयो । उहाँले घरघर भएको धारामा पानी नआउँदा स्कुलका विद्यार्थी भेरी नदीको पानी खान बाध्य भएको समेत बताइन्।

यता बनगाड कुपिण्डे नगरपालिकाका उपमेयर पुरुषोत्तम आचार्यले भेरी नदीको पानी खाइरहेको आफूहरूलाई जानकारी नभएको बताउनुभयो । पहिलोपटक जानकारी आएकाले त्यसको सत्यतथ्य बुझेर छिटै शुद्ध खानेपानी व्यवस्थापन गर्ने आश्वासन दिनुभयो ।

६ किलोमिटर टाढा बनगाड कुपिण्डे–३ को छिपछिपेदेखि नाम्रासम्म तीन वर्षअघि खानेपानी योजना सञ्चालन गरिएको थियो। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयको ४५ लाख र ७ लाखको जनश्रमदान गरी जम्मा ५२ लाखमा खानेपानी योजना सम्पन्न भएको थियो।

तीन वर्ष नहुँदै योजना बिग्रिएपछि स्थानीय बासिन्दा पुनः भेरी नदीको पानी खान बाध्य भएका हुन्।-सल्यानखबर

प्रतिक्रिया