बराई गाउँमा खानेपानी पुग्दा स्थानीय दंग

बराई गाउँमा खानेपानी पुग्दा स्थानीय दंग

सिमकोट – हुम्ला सर्केगाड गाउँपालिका–६ बराई गाउँका धनलाल टमाटा उमेरले ६४ वर्ष पुग्नुभयो । आफ्नो जीवनभर खानेपानी बोकेर खाने कल्पना गर्ने उहाँ घरमै धारा जडान भएपछि दंग देखिनुहुन्छ ।

६४ वर्षीय टमाटाले भने हामीले यो उमेरसम्म पानी बोकेर खायौँ अब आफू त त्यस्तै हो छोराछोरीका लागि सुविधा हुने भयो।

उहाँ मात्र होइन सर्केगाड –६ बराई गाउँकी रेलकला बुढासमेत अहिले घरमै खानेपानी पुगेपछि दंग हुनुहुन्छ । काखमा बच्चा बोकेर पानी बोकेको सम्झँदै उहाँले भन्नुभयो पानी ल्याउन नजिकै भए पनि पानी लिन दुई घण्टा पालो कुरेर ल्याउनुपथ्र्यो अब सजिलो हुने भयो ।

सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घरघरमा खानेपानीका धारा जडान गर्ने वर्षौंदेखिको सपना पूरा भएपछि स्थानीय खुसी भएका छन्। सिँचाइ खानेपानी तथा ऊर्जा विकास कार्यालयले दुई वर्षअघि सञ्चालन गरेको पागरपानी खानेपानी योजना निर्माण गरी त्यहाँका एक सय १३ घरधुरीमा खानेपानी धारा जडान गरेपछि त्यहाँका नागरिकलाई पानी बोकेर खानुपर्ने बाध्यतासमेत हटेको हो ।

सिँचाइ खानेपानी तथा ऊर्जा विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख अक्कल महतले ०७८/७९ मा स्थानीय उपभोक्तामार्फत उक्त योजना निर्माण सुरु गरिएको बताउनुभयो ।

उहाँले एक सय १३ घरधुरीमा धारा जडानका लागि इन्टेक निर्माण, आरबिटी निर्माण गरी खानेपानी वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘उक्त खानेपानी योजना निर्माण सम्पन्न गर्न एक करोड ५० लाख खर्च भएको छ।’ यसका लागि चौध किलोमिटर पाइपलाइन खनिएको थियो।

प्रतिक्रिया