मंगलादेबीको स्मृति दिवसमा तीजको नाँचगान
नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल महिला संघका संस्थापक सभापति मंगलादेवी सिंहको २७ औं स्मृति दिवस दैलेख सदरमुकाममा तीजकाे नाँचगान गरेर मनाइएको छ । नेपाल महिला संघ दैलेख शाखाले आयोजना गरेकाे स्मृति दिवस कार्यक्रममा काँग्रेस जिल्ला सभापति मणिराम रेग्मीले महिलाहरुलाई संगठित गराउन मंगलादेवीले थालेकाे कामबाट महिला अधिकार संस्थागत गराउन सहज भएको बताउनुभयो ।
त्यस बखत नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य निर्मला खड्काले मंगलादेबी सिंहले महिला अधिकारको सवालमा आवाज उठाउन बन भोज कार्यक्रमबाट सुरुवात गरी नेपाल महिला संघको स्थापना गरेको स्मरण गराउनुभयो ।
नेपाल महिला संघ दैलेख शाखाका सभापति दुर्गा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस प्रदेश सदस्य मिठु कार्की, काँग्रेस जिल्ला सचिव नारायण रेग्मी, दैलेख क्षेत्र नंं. २ प्रदेश (ख)का सभापति टंक रिमाल, नेपाल महिला संघका पूर्वसभापतिहरु मोहनमाया प्याकुरेल, सरस्वती श्रेष्ठ लगायतका नेताहरुले महिला संघ र मंगलादेवी सिंहको योगदान बारे चर्चा गर्नुभयो ।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको जन्म वि.संं. १९८१ मा काठमाडौंमा भएको थियो। वि.संं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भएको थियो । वि.संं. १९९६ मा त्यसबेला प्रजापरिषद्गमा आवद्ध गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।
वि.संं.२००४ सालमा भूमिगत संगठनको रुपमा नेपाल महिला संघको स्थापना गरेर उहाँ जीवनभर सभापति रहनुभएको थियो । २००५ सालमा तत्कालिन राणा प्रधानमन्त्री पद्म शमशेर बिरुद्ध महिलाहरुको जुलुस लिएर राणाहरुको दरबार पुग्नुभएको विषयलाई क्रान्तिकारी महिलाकाे रुपमा व्याख्या गरिन्छ ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरूद्धकाे संयुक्त जनआन्दाेलनकाे संयाेजक सर्वमान्य नेता गणेशमान सिंहकाे स्वाभिमान र सदाचार मंगलादेवीले पनि जाेगाएकाे भन्ने गरिन्छ । २ छोरा र ३ छोरीकी आमा मंगलादेवीको निधन वि.संं. २०५३ साल भदौ १० गते भएको थियो। नेपाल महिला संघले हरेक वर्ष भदौ १० गतेलाई मंगलादेवीको स्मृति दिवस मनाउने गर्दछ । उहाँकाे नाममा सरकारले २०५६ सालमा हुलाक टिकट प्रकाशन गरेकाे थियाे ।
प्रतिक्रिया