वातावरण जोगाउन सडक नाटक

वातावरण जोगाउन सडक नाटक

सिमकोट – जताततै वातावरण संरक्षण हुन नसकेको भन्दै विद्यालयमा अध्ययनरत इको क्लबका सदस्य मिलेर सन्देशमूलक सडक नाटक प्रस्तुत गरेका छन्। वातावरण संरक्षणमा सबैले लाग्नुपर्ने मूल सन्देश दिन खोजेको सो नाटक विद्यार्थीले सबै आफै तयार पारेर प्रस्तुत गरेका हुन्।

सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाटै गठन भएको इको क्लबका सदस्य मिलेर वातावरण जोगाउनका लागि चेतना नामक सन्देशमूलक सडक नाटक तयार पारी प्रस्तुति गरिएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो ।

क्लबका विद्यार्थी मिलेर नाटकको कथावस्तु, स्थानीय भाषा शैली, वेशभूषा, सडक नाटकको पात्रसमेत आफै छनोट गरेर तयार पारी प्रस्तुत गरिएको हो।

गाउँघरमा वनजंगल विनाशले निम्त्नि सक्ने सम्भावित परिणाम, यसको रोकथाम, फोहोर मैला, विद्यालय शिक्षामा वातावरण संरक्षणका पक्षलाई नाटकको विषयमा समेटिएको छ। सो सडक नाटक इको क्लबका विद्यार्थीले विद्यालयबाटै प्रस्तुति सुरु गरेका हुन् । त्यसलाई आफ्नो समुदायमा पनि प्रस्तुति गर्ने तयारी इको क्लबले गरेको छ। यसरी वातावरण संरक्षणका लागि इको क्लबमार्फत सन्देशमूलक सडक नाटक तयारी र प्रस्तुतिका लागि सहजीकरण र समन्वय उकाली परियोजनाले गरेको परियोजनाका प्रमुख रिन्जिन फुन्जोक लामाले बताउनुभयो ।

उक्त परियोजना लागू भएको सिमकोट र नाम्खा गाउँपालिकाका आठ वटा माविमा एक एक वटा इको क्लब गठन गरिएको छ। अब प्रत्येक क्लबले यसरी वातावरण संरक्षणमा टेवा पुग्नेपछि सडक नाटक तयार पारिएको छ।

यसलाई भिडियो बनाएर पनि प्रदर्शनी गरिने तयारी परियोजनाले गरेको छ। कक्षा आठदेखि दशमा अध्ययन गर्ने इको क्लबका सदस्य प्रशान्त भण्डारी, सर्मिता बोहरा, सृस्मा रोकाया, उत्सव रोकाया, अविशेक भण्डारी, सदीक्षा रोकाया र सदिप भण्डारीले नाटक प्रहसन गरेका थिए।

प्रतिक्रिया