आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

काठमाडौँ -   हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनै पूर्णिमा पर्व आज देशभर विभिन्न रिति रिवाज अनुसार मनाइँदै छ।

वैदिक सनातन धर्म अनुसार पूर्णिमा दिन बिहानै धर्मावलम्बीले नदी, ताल, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्दछन्। गुरु पुरोहितले विधिपूर्वक मन्त्र गरिएको डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

यहि दिन ब्राम्हण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ। तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन्।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ।

नेवा संस्कृतिमा गुंपुन्हि

जनै पूर्णिमाका दिनलाई नेवा भाषामा गुंपुन्हि पनि भनिन्छ। यस दिन उपत्यकाका भित्रि सहरहरुको बहाल विहारहरुमा ‘बहिद्यः ब्वयेगु’ चलन पनि रहेको छ। अर्थात विभिन्न बहालहरुमा दीपङ्कर बुद्ध तथा सोसँग सम्बन्धित अन्य मूर्तिहरु प्रदर्शन गरिन्छ।

क्वाती खाने दिन

यस दिनको विशेष परिकारको रुपमा ‘क्वाती’ खाने चलन पनि रहेको छ। विभिन्न ११ थरीका गुडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइने झोलिलो परिकारलाई क्वाती भनिन्छ। नेपाल भाषामा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल हो। यसरी क्वाती खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ।

राखी लगाउन चलन

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ। यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।

किन लगाइन्छ जनै ? 
धार्मिक महत्त्व अनुसार द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ अर्को जन्म हो । जनै जहिले पनि देब्रे काँधमाथि तथा दाहिने हातमुनि पारेर लगाइन्छ ।

जनै तीन वटा पवित्र सूत्रबाट बन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि जनैलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमका प्रतीक पनि हुन् ।

जनैको लम्बाइ ९६ औँला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अङ्ग, ६ दर्शन, तीन सूत्र ग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् ।

चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।

जनै लगाउने नियम यस्ता छन्
मलमूत्र विसर्जन गर्दा जनै दाहिने कानमा बेर्नुपर्छ र हात सफा गरेपछि मात्र निकाल्नुपर्छ । जनैलाई कम्मरमाथि राख्नुपर्छ र अपवित्र हुन दिनुहुँदैन ।

जनैको एक सूत्र चुँडियो भने त्यो धारण गर्नु हुँदैन । जनै मैलिनु भन्दा अगाडी नै बदल्नु पर्छ वा लगाएको ६ महिनाभन्दा बढी समय भयो भने अर्को बदल्नुपर्छ ।

जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नुहुँदैन । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला जप गरेर बदल्ने नियम हिन्दु संस्कारमा छ ।

जनै लगाउने मन्त्र–

यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।

पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।

रक्षाबन्धनको महत्त्व
आजको दिनमा रक्षाबन्धन धागोमा धेरै मन्त्रहरू पढेर धारण गरिन्छ । जसले मानिसको जीवनमा रक्षा गर्छ, शक्तिशाली बनाउँछ, बाहुबल ऊर्जा बढ्छ भन्ने मान्यता छ ।

त्यस कारण आज घरघरमा पुरेतहरू गएर आफ्ना यजमानको हातमा रक्षाबन्धनको धागो बाँधिदिन्छन् र दिदी बहिनीले आफ्ना दाजुभाइका हातमा लामो आयु माग्दै राखी बाँधिदिने चलन छ । 

प्रतिक्रिया