बहिरा बालबालिकालाई पोशाक र शैक्षिक सामग्री सहायता
बाजुरा घर भई दैलेखमा सामाजिक काममा क्रियाशील मनकारी युवा सन्तोषी शाहले दैलेख सदरमुकामको रेडक्रस मावि भूर्तीमा रहेको सुस्त श्रवण तथा बहिरा श्रोत कक्षामा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री र पोशाक सहायता दिनुभएको छ ।
श्रोत कक्षामा अध्ययनरत तीन र रेडक्रस मावि भूर्तीमा पढ्दै गरेका दुई समेत पाँच जना अति विपन्न बालबालिकालाई जुत्ता, मोजा, विद्यालय पोशाक र झोला, कपी, पेन्सिल, कटर, इरेजर, वाटर कलर लगायतका स्टेशनरी विद्यालयमा पुगी १८ हजार छ सय बराबरको सामग्री हस्तान्तरण गर्नुभएको हो ।
श्रोत कक्षा ४ की सीता सार्की, कक्षा ३ की दुई जना बिनिता सिंह, बिर्मा शाही, रेडक्रस माविमा कक्षा ३ पढ्ने अति विपन्न सुन्दर सार्की र अर्जुन सार्कीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री दिइएको हो । सहायता पाउने बालबालिकाहरु विद्यालयले छनौट गरेको हो ।
सोसेक नेपालको बालबालिका गुणस्तरीय शिक्षा सम्बन्धी सहयात्रा परियोजनामा मिल अधिकृतमा कार्यरत शाह बाजुरा जिल्ला बडीमालिका नगरपालिका–४ रिला गाउँकी बासिन्दा हुनुहुन्छ । दैलेखमा काम गर्न थालेको ४ वर्षदेखि वर्षेनी विपन्न र अवसर विहीन बालबालिकाहरुलाई उहाँले यो यस्तो सहायता दिंदै आउनुभएको छ । दैलेख आउन अघि पनि बाजुरामा यस्तो सहायता दिंदै आउनुभएको थियो ।
८ कक्षामा पढ्दै २०६१ सालमा राष्ट्रिय जिलेट बाल पुरस्कार बिजेता हुँदा पाएको रकम त्यतिबेला शाहले आवद्ध जिल्ला बाल सञ्जालका लागि दिनुभएको थियो । सशस्त्र युद्धको समयमा बालबालिका शान्ति क्षेत्र सवालमा सडक नाटक र बालअधिकार सचेतना सवालमा पैरबी गरेको भनी उक्त पुरस्कार पाएदेखि बालबालिकाको हितमा काम गर्न आफू उत्सुक भएर यस्तो सहायता गर्दैै आएको उहाँको भनाई छ ।
रेडक्रस मावि भूर्तीमा सहयोग सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बालबालिकाको लागि सहयोग गर्नु परोपकारी र जीवनदर्शनको नमूना समाज सेवा भएको बताउनुभयो ।
नारायण नगरपालिका ६ नं. वडाका कार्यबहाक वडाध्यक्ष कृष्ण प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस मावि भूतीका प्रधानाध्यापक पदम थापा, श्रोत शिक्षक टंकप्रसाद उपाध्याय, श्रोत कक्षा इञ्चार्ज कमला तिवारीले समाजसेवी शाहको परोपकारी भावना र बालबालिकालाई दिइएको सहायता निम्ति धन्यवाद दिनुभएको थियो ।
प्रतिक्रिया