छन्द कविता वाचिका सरु गुरागाईंकाे घाँटीमा क्यान्सर

छन्द कविता वाचिका सरु गुरागाईंकाे घाँटीमा क्यान्सर

मधूरकण्ठले मीठो शैलीमा छन्द कविताहरू वाचन गरेर ख्याति कमाएकी सरु गुरागाईं घाँटीको क्यान्सर रोगबाट पीडित हुनुभएको छ । परिवारसहित अमेरिकाको ओहायो शहरमा बस्दै आइरहेकी गुरागाईं युनिभर्सिटी अफ केन्टकी युके हस्पिटलमा उपचाररत हुनुहुन्छ । शुक्रबार उहाँको थाइराइडको शल्यक्रिया भएको छ । 

स्वास्थ्य परीक्षणको सबै रिपोर्टहरू आइसकेपछि थप उपचार विधिबारे टुंगो लाग्ने पारिवारिक श्रोतले जानकारी दिएको छ । घाँटी वरिपरीको लिम्फ नोडहरूमा फैलिएको अवस्थामा क्यान्सर पहिचान भएको थियो ।

सरुका श्रीमान् मुरारी गुरागाईंले पत्नीको स्वास्थोपचारका लागि आर्थिक सहयोगका लागि अपील गर्नभएको छ । उहाँले गो फन्डमी मार्फत रकम सहयोग गर्न आग्रह गर्नुभएको छ । 

गुरागाईं दम्पत्तिका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन् । नेपालमा इलाम घर हुनुभएका उहाँहरू अमेरिकामा बस्नुहुन्छ । सरुले अमेरिकाबाटै छन्द कविताका अडियोहरू बनाएर युट्यूवमा हाल्ने गर्नुभएको छ, कोरोना कहरको समयमा उहाँले वाचन गर्नभएको कविताहरु लोकप्रिय छन् । श्रीमान् मुरारी गुरागाइँ आफै संगीत साधक भएकोले सरुको मधूरकण्ठमा सस्वर बाचित कविताहरु थप मिठास बनेका थिए । 

आदिकवि भानुभक्त आचार्यको रामायणका श्लोकहरू वाचन गरेर युट्यूवमा धारावाहिक प्रशारण गरेपश्चात उहाँको प्रशंकहरु बढेका छन् । उहाँ महिला र वृद्धवृद्धाहरुबीच बढी लोकप्रिय हुनुहुन्छ । एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँको कविता वाचन कार्य रोकिएको छ ।

कोरोना सुरुवात भएको सुरुवातमा आफ्ना बुबा जीवनहरी शर्माले लेख्नुभएको विज्ञानका दूरदिन कविता, कमला कोइरालाको फर्कू म आमा घर कविता, जगत उपाध्यायको नेपाल मेरो घर कविता सरुको स्वरमा वाचित गरिएकै कारण चर्चित बनेका थिए । छन्द कविताहरु वाचन शैली सुनेको श्रोतादर्शकहरु सरुलाई छन्द कविताकै लागि जन्मेकी भन्नेहरु पनि छन् । 

https://www.youtube.com/watch?v=24sh2lvCgFo

प्रतिक्रिया