राउटे समुदायका ४१ परिवारलाई चामल सहायता

राउटे समुदायका ४१ परिवारलाई चामल सहायता

फिरन्ते जीवन बिताउने क्रममा तीन महिनादेखि महाबु गाउँपालिका–३ बालतडामा बस्तै आएको राउटे समुदायलाई ४१ घरधुरीलाई सामाजिक विकास कार्यालय दैलेखले हरेक परिवारलाई २५ केजीका दरले चामल सहायता गराएको छ । गत असारमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट प्राप्त पाँच लाख ८० हजार अनुदान अन्तरगत सामग्री सहायता गरिएको बताइएको छ।

त्यसबेला राउटे समुदायले सामाजिक सुरक्षा भत्ताबाट चामल किनेर राखेको अवस्था दिइँदा दुरुपयोग हुने भएको कारण राउटे समुदायका ४१ परिवारलाई २५ केजी तौलका एकएक बोरा चामल दिइएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख महेशकेशर खनालले जानकारी दिनुभयो ।

माजिक विकास मन्त्रालयको उक्त अनुदानबाट साउन पहिलो साता एक–एक वटा कपडाको पाल, कम्बल, तन्ना, ऐना, काइँयो, दारी काट्ने मेसिन अलवा एक सय ४१ जनालाई लगाउने कपडा र बालबालिकालाई खेलकूद सामग्री समेत दिइएको थियो । 

समुदायको आवश्यकता र राउटे मुखियाहरुसंगको सल्लाहमा पुरुषहरुले नसिलाएरै लगाउने गादो बनाउने, बालिकाहरुका लागि फराक र बयस्क महिलाहरुले आफैले सियोले सिलाउने ब्लाउज तथा लुङ्गी कपडा, माथि उल्लेखित सामग्री ४१ परिवारलाई २५ केजीको दरले चामल, दुई–दुई वटा नुहाउने र कपडा धुने साबुन समेत दिइएको थियो । 


नेपालको एक मात्र फिरन्ते जीवन निर्वाह गर्दै आएको राउटे समुुदाय दैलेख, जाजरकोट, सुर्खेत र सल्यान आसपासमा घुमिरहने भएकोले नेपाल सरकारले राउटे समुदायलाई दिने सामाजिक सुरक्षा भत्ता दैलेखको गुराँस गाउँपालिका मार्फत पठाउने गर्दछ ।

राउटे समुदायको जीवनस्तर सुधार गर्न, बालबालिकालाई पढाइलेखाईमा प्रेरित गर्न, स्वास्थ्य शिक्षा र सामाजिकीकरणको पहल गर्न सोसेक नेपालले राउटे परियोजना सञ्चालन गरिरहेको छ । राउटे समुदायसंगै बस्तै सर्दै हिंड्ने गरी परियोजनामा दुई महिला समेत चार जना कर्मचारी परिचालन गरेको छ ।

पहिले काठपाते, जडीबुटीको भरमा उपचार गर्ने पद्धति राउटे परियोजना र सहजकर्ताहरुको लामो प्रयासपछि सामान्य विरामी पर्दा वा चोट पटक लाग्दा राउटे परियोजनामा कार्यरत स्वास्थ्यकर्मीकको सम्पर्कमा पुग्ने गरेका छन् ।

सोसेक नेपालले राउटे महिलाको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन महिला स्वास्थ्यकर्मी र पुरुषहरुलाई जाँच्न वा औषधि गर्नुपर्दा पुरुष स्वास्थ्यकर्मीले उपचार गरिरहनुभएको छ । पुरूष बालकहरूकाे हकमा महिला स्वास्थ्यकर्मीले उपचार गर्न राउटे समुदायले बाधा गर्दैनन् । 

प्रतिक्रिया