दैलेखमा राष्ट्रिय परिचयपत्र बितरण आरम्भ
दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले पहिलो चरणमा दर्ता भएका राष्ट्रिय परिचयपत्रको कार्डहरु बितरण थालेको छ । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नारायण नगरपालिका–१ दैलेखबजारका जेष्ठ नागरिक ८० वर्षीय दलबहादुर श्रेष्ठ र उहाँको श्रीमति ७८ वर्षीया खगी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा समेतको उपस्थितिमा दम्पतिलाई राष्ट्रिय परिचयपत्रको कार्ड दिइएको हो । २०७७ असार १ गतेदेखि २०७७ चैतसम्म राष्ट्रिय परिचयपत्रको लागि दर्ता गराइएका २३ सय ६७ वटा कार्ड प्राप्त भएका र अब स्वयम् व्यक्तिको हातमा कार्ड दिइने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो ।
दर्ता गराउँदा लिएको फोटो, दुई हातका दशैं औंला छाप र आँखको रेटिना समेत पुनः रुजु गरी स्वयम् व्यक्तिका लागि ४ अंकको पिन कोड दिइने भएकोले व्यक्ति स्वयम् आएर जिल्ला प्रशासन कार्यालयबाट कार्ड दिइने कम्प्यूटर अप्रेटर रामनारायण बुढाले जानकारी दिनुभयो । दैलेखमा हालसम्म २१ हजार पाँच सय १५ को दर्ता भएको उहाँले बताउनुभयाे ।
सामाजिक सुरक्षा भत्ता लिन, जग्गाको किनबेच गर्न, बैंकमा खाता, पानी–बिजुली वा घरभाडा लगायतका सबै सरकारी र गैरसरकारी सेवाका क्षेत्रमा एउटै कार्डको माध्यमबाट हरेक व्यक्तिको स्पष्ट पहिचान र सेवालाई सरलीकृत गर्न राष्ट्रिय परिचयपत्रको लागू गरेको हो ।
व्यक्तिको विरवरण आवश्यक पर्ने ती निकायले कार्ड रिडर राखी राष्ट्रिय परिचयपत्रको माध्यमबाट फोटो, दुई हातका दशैं औंला छाप र आँखको रेटिना समेत उपलब्ध हुने भएकोले अहिले जस्तो नागरिकता, मतदाता, सवारीचालक परिचयपत्र लगायतका कागजपत्र बोकी रहनु नपर्ने गरी राष्ट्रिय परिचयपत्र व्यवस्था गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक नवराज जैसीले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र मात्र बोके पुग्नलाई सबै ठाउँमा राष्ट्रिय परिचयपत्र कार्ड रिडर डिभाइसको उपलब्धता र त्यस अनुसार प्रविधियुक्त कर्मचारी जनशक्ति हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय महासचिव बिष्णुप्रसाद तिमिल्सिनाले टिप्पणी गर्नुभयो ।
नागरिकता, मतदाता, सवारीचालक परिचयपत्र सरकारी निकाय जारी गरेका जग्गाधनीपूर्जा, सामाजिक सुरक्षा भत्ता लगायत अरु सेवा सुविधा दिइने ठाउँमा राष्ट्रिय परिचयपत्र लागू गर्न, गोपनीयता र उचित प्रयोगको निम्ति सजगता अपनाउनुपर्ने उपभोक्ता हित संरक्षण मञ्चको माग रहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया