हावाहुरीले मकै खेतीमा क्षति

रुकुम पश्चिम - आइतबार आएको पश्चिमको आठबिसकोट नगरपालिका क्षेत्रका करिब तीन हजार हेक्टरमा लगाइएको मकै खेतीमा क्षति पुर्याएको छ ।
भर्खर पाक्दै गरेको मकै हावाहुरीले ढालेपछि किसान चिन्तित बनेका छन् । यस क्षेत्रको मुख्य बालीका रुपमा रहेको मकैमा क्षति भएपछी क्षतिको मूल्यांकन गरी राहतका लागि स्थानीय सरकार र प्रशासन समक्ष अनुरोध गरेका छन् ।
आठबिसकोट नगरपालिका– १, २, ३, ४, ५, ६, ८ र ९ नम्वर वडामा सबैभन्दा बढी क्षति भएको छ । अन्य वडाहरुमा पनि वर्षा सहित आएको हावाहुरीले मकैमा क्षति पुर्याएको हो । आठबिसकोट करिब पाँच हजार परिवारले लगाएको मकै खेती हुरीले सखापपारेपछि पीडित किसानले राहातको अपेक्षा गरेका छन् । पीडित किसानहरुले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा माग पत्र बुझाएको जनाएका छन् ।
मकैमा क्षतिपुगेपछि खाद्यान्न संकट निम्तिने भन्दै राहत माग गरेको वडा नम्वर–३ का धननाम परियारले बताउनुभयो । ‘वर्षभरि खाने मकै हावाहुरीले सखाप पारेको छ । यस्तो बेला सरकारले दुःखमा साथ दिए हुन्थ्यो,’ उहाँले भन्नुभयो ।
‘प्रशासनले क्षति हेरेर राहतदिए गरिबको घाउमा मल्हमपट्टी लाग्थ्यो ।’ वडा नम्वर–९ का कृषक नरदल खत्रीले बताउनुभयो । वडा नम्वर ९ मा लगाएको मकै ढल्दा करिब ३० लाख बराबरको क्षति भएको खत्री बताउनुहुन्छ । जमरा खेल्न लागेको र कतै पाक्नै लागेको मकै हावाहुरीले ढालेर सखाप बनाएको बताउनुभयो ।
नगरपालिकाको पहाडा, खेत, स्याला, खदी, गोतामकोट, दाजे, बटालागाउँ लगायतका क्षेत्रमा सयौं किसानले लगाएको मकै बालीमा पूर्णरुपमाक्षति पुर्याएको छ। वर्षासँगै आएको हावाहुरीले आठबिसकोट नगरपालिका– ३ मा करिब तीन सय घरधुरीका मकै खेतीमा क्षति पुर्याएको बताउनुभयो । यता, वडा नं–९ बटालागाउँ सुन्दरपानी र आसपासका क्षेत्रमा पनि हावाहुरीले मकैको बोट सखाप पारेको वडाध्यक्ष जनक बहादुर बटालाले बताउनुभयो ।
विपद्ले मकै बालीमा पुर्याएको क्षति समस्या थाहा पाएकाले क्षतिको मूल्यांकन गरेर राहत रकम उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको आठबिसकोटका नगरप्रमुख रवि केसीले बताउनुभयो ।
प्रतिक्रिया