चिकित्सा शिक्षा आयोगको प्रतिवेदनमाथि सांसद श्रेष्ठको आपत्ति

चिकित्सा शिक्षा आयोगको प्रतिवेदनमाथि सांसद श्रेष्ठको आपत्ति

काठमाडौं -   प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको ‘नेपालमा स्वास्थ्य जनशक्ति प्रक्षेपण’ प्रतिवेदनप्रति आपत्ति जनाउनुभएको छ  । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै श्रेष्ठले उक्त प्रतिवेदनको सर्वेक्षणप्रति आपत्ति जनाउनुभएको हो  । 

आजको बैठकमा आयोगका उपाध्यक्ष प्राडा.श्रीकृष्ण गिरीले उक्त प्रतिवेदन पेश गर्दै नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको बताउनुभएको थियो  । उहाँले उक्त प्रक्षेपण विज्ञहरूको भनाईको आधारमा तयार पारिएको भन्दै यो एकपक्षीय भएको बताउनुभयो  । 

‘रिर्पोटमा बुझ्नै नसक्ने तपाईहरूले सार्वजनिक गरेको रिपोर्टमा यस्तो कन्फिडेन्सका साथ लेख्नुभएको छ । तर, अध्ययनको सिमामा लेखिएको विषयलाई आधार मान्ने हो भने इट इज टोटली बायस्ड ।’ उहाँले भन्नुभयो ।  प्रक्षेपणको अध्ययन सीमामा भनिएको छ, ‘खास गरी प्रक्षेपणका निमित्त समयक्रममा आएको परिवर्तनको प्रवृत्ति विश्लेषण गर्न विगतका वर्षदेखिको समयक्रममा आएका परिवर्तन देखिने तथ्यांक आवश्यक पर्नेमा सोको अभावमा प्रक्षेपणको मोडलको उपयोग गर्न सम्भव भएन ।

अध्ययन टोलीलाई दिइएको सीमित समयका कारणले प्राथमिकत तथ्यांक संकलन समेत सम्भव नभएको हुँदा द्वीतिय तथ्यांकको उपयोग तथा विज्ञहरूसँगको छलफल र रायलाई आधार मान्नुपर्ने अवस्थालाई स्वीकार गरिएको छ ।’

उहाँले सबै तथ्यांक विज्ञहरूको धारणाको आधारमा प्रस्तुत गरिएको भन्दै उक्त रिपोर्ट नै गलत रहेको संकेत गर्नुभयो  ।  यो तथ्यांकमा प्रस्तुत गरिएको जनशक्तिहरू रिचायर्ड भएको खण्डमा त्यसको ठाउँमा कहाँबाट ल्याएर राख्ने भन्दै प्रश्न गर्नुभयो  ।

प्रतिक्रिया