पर्यटक चहलपहल बढ्न थालेपछि उत्साहित व्यवसायी

पर्यटक चहलपहल बढ्न थालेपछि उत्साहित व्यवसायी

म्याग्दी– म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूपमा २० देखि एक सय जनासम्म विदेशी पर्यटक पुनहिल पुग्न थालेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो  । आगामी सिजनका लागि विदेशी पर्यटकले धमाधम होटल बुकिङ गर्न थालेका उहाँले बताउनुभयो । 

पुनका अनुसार असोजदेखि मङ्सिरसम्म र फागुनेदखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । मुख्य सिजनमा यहाँ दैनिक चार सयदेखि एक हजारसम्म पर्यटक भित्रने गरेका उनले बताइन् । उनका अनुसार अहिले पर्यटन सिजन सुरु नहुँदै विदेशीसँगै आन्तरिक पर्यटकसमेत घोडेपानी आउन थालेपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।

विभिन्न विद्यालय, कलेज, सङ्घसंस्था र समूहबाट सामूहिकरूपमा भ्रमणमा आउनेसमेत बढेका स्थानीय पर्यटन व्यवसायी ज्ञानबहादुर गर्बुजाले बताउनुभयो  । घोडेपानीसम्म नै सडकको पहुँच जोडिएपछि आन्तरिक पर्यटकको आवागमन बढेको उहाँको भनाइ थियो ।

गाउँपालिकामार्फत पुनहिलमा प्रवेश शुल्क र टिसप सञ्चालनका लागि स्थानीय पाँच जना व्यवसायीले रू ६३ लाख ११ हजारमा ठेक्का लिएका पालिका कार्यालयले जनाएको छ । पुनहिलमा नेपालीलाई प्रतिव्यक्ति रू ५० र विदेशी पर्यटकलाई रू एक सय प्रवेश शुल्क लिने गरिएको छ ।

‘यस क्षेत्रमा पर्यटकको आवागमन सुरु भएको छ, हामीले घोडेपानीबाट पुनहिल पुग्ने पदमार्गलाई सरसफाइ गरेर चिटिक्क पारेका छौँ’, गर्बुजाले भन्नुभयो, ‘पर्यटकले पनि आफ्नो भ्रमण तालिका बनाएर होटल बुकिङ गर्न थाल्नुभएको छ ।’ उहाँका अनुसार यस क्षेत्रमा सिजन पहिले नै बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीले होटलको क्षमता विस्तार गरेका छन् । 

गर्बुजाले ४३ घरधुरीको बसोबास रहेको घोडेपानीमा २६ ठूला होटल सञ्चालनमा रहेका बताउनुभयो । अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । ‘समुद्री सतहबाट तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रीय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा परिचित छ’, उहाँले भन्नुभयो, ‘यहाँबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।’
 
मनोरम प्राकृतिक दृश्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा पार्ने गरेका अष्टेलियाका पर्यटकलाई भ्रमणमा लिएर आएका नेपाल वेयल्ड प्रालिका सञ्चालक रामहरि न्यौपानेले बताउनुभयो  । 

यस क्षेत्रको भ्रमण सकेर जाने पर्यटक यहाँको प्राकृतिक सौन्दर्यताले लोभिएर पुनः भ्रमणमा आउने गरेका उनको भनाइ थियो । ‘पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदयको अवलोकन गर्न पुनहिलमा हरेक बिहान पर्यटकको भीड लाग्ने गर्छन्’, न्यौपानेले भन्नुभयो। 

घोडेपानीका पर्यटन व्यवसायीले यस क्षेत्रलाई पदमार्ग र सडक दुवैको सहज पहुँच बनाउन लागिपरेका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार अहिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घोडेपानी सडक सञ्जालले जोडिएको छ । 

यहाँबाट कास्कीको उल्लेरी जोड्ने सडक निर्माण गर्न स्थानीयवासीले माग गरेका छन् । कास्कीबाट घोडेपानी जोड्ने परम्परागत पदमार्गलाई विस्थापित नगरी नयाँ सडकको पहुँच जोड्ने योजनामा रहेको घोडेपानीका पर्यटन व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले बताउनुभयो ।

प्रतिक्रिया