चिलाउने स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

उदयपुर – त्रियुगा नगरपालिकाले जालपा चिलाउने स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख बसन्तकुमार बस्नेतले एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।
उहाँले सो क्षेत्रका विरामीलाई उपचारको लागि स्वास्थ्य संस्थामा लैजान सहज बनाउनका लागि एम्बुलेन्स हस्तान्तरण गरेको बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र ३ वटा एम्बुलेन्स र एउटा शवबाहन सञ्चालनमा रहेको छ ।
एम्बुलेन्स सञ्चालन गर्नको लागि नगरपालिकाले कार्यविधि ल्याएको र सोही अनुरुप स्वास्थ्य संस्थाले सञ्चालन गर्ने बताउनुभयो । पालिकाभित्रका गर्भवती महिलालाई सुत्केरी गराउनका लागि ल्याउन र लैजान तथा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई अस्पताल लैजान एम्बुलेन्सको निःशुल्क प्रयोग गर्न सकिने उहाँले सुनाउनुभयो ।
नगरपालिकासहित संस्थागत सामाजिक दायित्व कार्यक्रमअन्तर्गत जनरल इन्स्योरेन्स कम्पनीको १५ लाख, माछापुछ्रे र बैंक, सानिमा बैंकको पाँच लाख र त्रियुगाको पाँच लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो ।
प्रतिक्रिया