नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो ।
एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्याइने उल्लेख छ ।
नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रतिक्रिया