'बा', लगिमानी प्रथा र स्याउबारी
म जन्मिएको वर्ष अर्थात २०४७ सालमा मेरा बा (पुन्ने सार्की)ले घर नजिककाे बारी गडाहरू सम्याएर स्याउ खेती गरेछन् । त्यसको पाँच वर्षपछि जुम्लामा नापी आएछ । जग्गा नाप्दै जाने क्रममा बाको स्याउ फारम पनि नापिएको रहेछ। तर लालपुर्जा आएनछ । बालाई अनौठो लागेछ। सबैले जंगल फडानी गरेर गडा बनाएको देखेरै बाले पनि खान लाउनको सुविस्ता होला, बाहुनबाडीको बाउर गर्न छोडिसकेकाले आम्दानीको गतिलो स्रोत बन्ला भनी बगैंचा बनाउने सोचले जंगल खनेका रहेछन् ।
सबैको लालपुर्जा आउँदा मेरो किन आएन भनी बाले सोधिखोजी गरेछन् । पत्ता लागेछ, पूर्व सभापतिले (गाउँकै बाहुन) रोक्का गर्न भनी मुद्दा हालेछन् र रोकिएको रहेछ। अब बाका अगाडि कि ती सभापतिसंग हजुरी गर्ने, कि त मुद्दा लडेर आफूले खनेको जग्गाको स्वामित्व लिने । दुइटा विकल्प देखाँ परेछन् । बाले दोस्रो विकल्प रोजेछन् । पहिलो विकल्प नरोज्नुको कारण बाहुनवादीको बाउर गर्न छोडेको हुनाले हलि नलाग्ने भएपछि बा उनीहरुका लागि विद्रोही भए । विद्रोहीहरु स्वभावैले सत्ताका दुस्मन हुने भएपछि पछि फेरि उनीहरुसँग झुक्न किन जाने भन्ने निर्णय लिएछन् ।
शोषणमा आधारित लगिमानी (बालिघरे) प्रथाको चक्रबाट उछिट्टिएर अलग बस्नु बाका लागि फलामको चिउरा चबाउनु सरह बन्यो। त्यही फलाका चिउरा चपाउँदा चपाउँदा बा स्पात बनेछन् । र नझुक्ने भन्दै त्यस्ताे दृढता लिएछन् ।
बाले नापीमा सप्रमाण दावी गरेपछि बाकाे नाममा लालपुर्जा आयो । त्यसपछि बाले ज्याला पाउने काममा पनि गाउँका बाहुनबाडीको गर्न छोडिदिए र अधिकांश समय स्याउको रेखदेख र बगैंचा व्यवस्थापनमा बिताए । यो अवधिमा कृषि कार्यालयका कर्मचारीसँग राम्रो सम्बन्ध बनाए, खेती प्रविधि सिके । उन्नत तरिकाले स्याउ खेती अन्न बाली उबाज्न थालेपछि थुप्रै पुरस्कार पनि पाए । एक पटक त जिल्लाका उत्कृष्ट कृषक समेत घोषित भए । बाले सहुलियत दरको कृषि ऋण पनि पाए । स्याउ बेचेर ऋण तिरे ।
स्याउ भर्खर फल्न लागेका थिए । पहिलो वर्षा गोल्डेन स्याउ फल्यो । सुनजस्ता पँहेला स्याउका दाना देख्दै खाउँखाउँ लाग्दा थिए । तर बा हामीलाई चाख्न दिन्थे तर टिपेर खाने बाँड्ने गर्नुहुन्न, रामरी पाकेर बेचेपछि धेरै पैंसा अाउँछ भनेर सम्झाएपछि चाहिँ बाकाे याे याेजनामा हामीले पनि साथ दियाैं फजुलमा स्याउ टिपेनाैं ।
पछि बा दमका रोगी भए । बालाई जाडो मौसममा नेपालगन्ज नबसी नहुने भयो । वर्खाभरी मेहेनत गरेर फलाएको स्याउ बेचेपछि जम्मा गरेको रुपैयाँ उपचारमा खर्च पुराउन मुश्किल पर्न थाल्याे । २०६४ असारमा एसएलसी पास भएपछि पढ्नलाई म पनि नेपालगञ्जमा बासंगै बस्न थालें । त्यहीँ मैले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरें । नेपालगन्जमा पनि सितलहर चल्दा बालाई खोकीले सताइरहन्थ्यो । दम बढ्थ्यो । हप्तैपिच्छे अस्पतालको बास हुन्थ्यो ।
नेपालगन्ज बसुन्जेल बा मेरा साथी थिए । हामी खुलेर कुरा गर्थ्यौं । बालाई बेलाबेला म जिस्काइरहन्थें । बा कहिलेकाहीँ मेला हेर्न जान्थे । मेलामा दोहोरी गाउने केटीहरु बालाई समेत जिस्काइदिने रहेछन् । ६० कटेका बा लजाउँदै भन्थे, 'दोहोरी गाउने केटीले जिस्काइदिई।’ त्यही कुरा मलाई बा जिस्काउने मसला भइहाल्यो । म जिस्किदै भन्थें, 'बड्डाले लभ पाड्याछुन । गलफ्रेन्ड बनायाछुन । पख मो आमा न फोन गरी भुन्दिन्यौं ?’ बा लाजले भुतुक्कै हुन्थे । 'काँ मौइले लभ पाड्या हुँ ? त्यैले आफै जिस्क्याइकी हो’ भन्थे । कुरा सकिन्थ्यो ।
एक दिन नेपालगन्जमा बाले आफूले बाहुनबाडीको हली लाग्न छोड्नुको कारण खोतले। 'जेठमास र कात्तिकमास घरको काम उस्तो गर्न नपाइन्या । खाली लगिका घरमात्रै जानुपड्न्या । दिनभरी काम गरेपछि बाहापल्टी(साँझपख) सबैभन्दा ठुलो भारी पनि आफैले बोक्नुपड्न्या । तर खान भुन्या कोदाका सारा बासी रोटामा घोडे नुन र एक कोसो पि¥या(खुर्सानी) पाइन्या । वर्षभरी बाहुनबाडीको काम गरिकन घरा जहानको पेट नभरिन्या। त्यो छोडीकन आफै केही गर्न पाया त सुविस्ता होला कि भुनी हली लाग्न छोड्याकाे हुँ ।’
हली लाग्नु भनेको हलो, जुवा, फालो सबैको व्यवस्था आफै गर्नु हो । वर्षभरि खेत बारी खनजोत गर्ने लगिमानीकाे काम गरेर एक भारी खोला किनारको कमसल खालको जग्गा खान पाइने हो । बीसौं वर्ष हली लागेपछि पनि छोड्दा त्यो खेत फिर्ता लगिहाल्ने। यसै कारण बाले लगिमानी प्रथामा मन लगाएनन् ।
बा कम्युनिस्ट थिएनन् । उनले बाह्रखरी बाहेक अरु पढेका पनि थिएनन् । तर बालाई चिठी लेख्न आउँथ्यो । हामीलाई समेत पढ्न सिकाएका थिए । पहिलोपल्ट बाले मेरो लागि भनेर काठको सानो पाटीमा रेडियो बजाएर सकिएका ब्याट्री फुटालेर कालो रंग लगाई कालो पाटी बनाए। रातो माटाको डल्लो मेरो दायाँ हातमा समाउन लगाएर पहिला सिधा ठाडो धर्काे ताने, बाँयातिर सिधा धर्काेसँग जोडिएको एक गालो डल्लो बनाए, दाँयातिर सिधा धर्काेसँगै जोडेर आधा गोलो बनाएपछि माथितिर अर्को सिधा तेस्रो धर्काे तने र भने, 'क भयो ।’ म ओैधि खुसी भए। त्यसपछि क्रमश: क, ख हुँदै ज्ञ सम्म पुगेपछि एक कलासमा भर्ना भएँ ।
बाहुनबाडीले काममा पेलेपछि उनको दिमागमा विद्रोहको चेतनाको बिजारोपण भएको थियो । त्यसपछि बाले बाहुनबाडीको हलो भाउन छोडिदिए ।
भाउन छोडेपछि नै 'बा'संग बाहुनबाडी रिसले चूर थिए । कुनै ठाउँमा उचो स्वर गर्ने बित्तिकै 'बड्तो बोल्छस् डुम’ भन्दै झम्टिन आउने उनीहरु नै हुन्थे । अरु हली लाग्नेहरुलाई समेतलाई बासँगको संगत छोडाएर एक्ल्याउन खोज्थे । बाले छाेडेपछि अरुहरूले पनि हलो भाउन छोडे । त्यसपछि जाेत्नै परे दैनिक ज्याला माग्न थाले । यसरी शोषणमा आधारित लगीमानी प्रथाको जग भत्केको थियो ।
बाले आफ्नो नेपालगन्ज नघुमेको पनि धेरै भैसकेको थियो । २०७० फागुन ६ गते अचानक बाको शरीर चल्न छोड्यो । केही समय बोली बन्द भयो । त्यसपछि हामीले लामो समय उपचार ग¥यौं। बा पुरानै अवस्थामा फर्किए । प्यारालाइसिस जितेर तंग्रिएका बाको तागत देखेर उत्पात खुशी लागेकाे थियाे । प्यारालाइसिस निकाे भएपछि बाले दिनभरी काम गरेर घर आउँदा एक रुपियाँका तीन आउने सुन्तला टपी(चक्लेट) ल्याइदिन्थे । बाकाे स्वास्थ्य अवस्थामा अाएकाे सुधारले लगिमानी प्रथा बिरूद्धकाे लडाइँ जस्तै स्वास्थ्यकाे राेग पनि जिते भनेर परिवारमा छलफल हुन्थ्याे ।
तर प्यारालाइसिस जितेकाे ६ महिनापछिकाे कुरा हाे, २०७१ साउन २४ गते दिउँसो बाले नेपालगन्ज बजार एक राउण्ड लगाएर आएपछि अनुहारमा उज्यालो पार्दै, फिसिँक्क हाँस्दै भने, 'देज्जास् ! आज त पुरै नेपालगुन्ज बजार डुल्दियाँ (घुमिदिनु) ।’ बाको नेपालगन्ज बजार भनेको धम्बोजीबाट घरबारी टोल, बागेश्वरी, एकलाइनी हुँदै पोते गल्लीमा हाट जाँदाका इष्टहरुलाई भेटेपछि डेरा फर्किनु थियो ।
खुसीखुसीमा मैले खाना पकाएँ । बाबु छोराले खायौं । दिनभर चर्को गर्मी भए पनि राती पानी पर्न थाल्यो । गर्मीबाट पार पाइयो । विस्तारै शितल भयो। १० नबज्दै म निदाए । राति ११ बजे बाको दम बढ्यो । दमको निरन्तर च्यापाइले बाको पीडा मिश्रित आवाज बढ्यो । कति बेला उज्यालो होला र अस्पताल पु¥याउला सोचिरहेको थिएँ ।
रातिभरी सुत्न नपाएको म, बिहान ४ बजेतिर निदाएछुँ । ५ बजे बिँउझिँदा बाको हालत खराब भैसकेको थियो । हतारहतार बालाई अस्पताल लिन रिक्सा खोजें । अस्पताल लिँदालिँदै बाटोमा बाको शरीर चिसिन थाल्यो । नेपालगन्जको चर्को गर्मीमा शरीर चिसिदा मेरो मनमा चिसो पस्यो । तर सास छउन्जेल आश हुन्छ। नसा मन्द चलिरहेका थिए । मुखबाट घ्यारघ्यार आवाज आइरहेको थियो । लाग्थ्यो बाको आवाज आउने नलिमा केही अल्झिएको छ, अस्पताल पुग्ने बित्तिकै निक्लन्छ । अनि सब ठीक हुन्छ ।
हतारमा बालाई भेरी अस्पतालको इमर्जेन्सी वार्डको बेडमा राखें । नर्स खोजे र अक्सिजन मास्क मागें । सिलिन्डर छिटो अन गर भने । अत्तालिदै डाक्टर बोलाएर ल्याए । डाक्टरले नाडी छामेपछि धमिलो अनुहारमा मधुरो स्वर लगाएर अमिलो वाक्य बोले, 'हि इज नो मोर ।' स्पष्ट रूपमा भन्दा २०७१ साउन २५ गते विहान ६६ वर्षकाे उमेर देहान्त भयाे, दाहसंस्कार भयाे भाैतिक रूपमा उहाँ सधैंका लागि अस्ताउनुभयाे ।
बाको सास उडेसँगै मेरो आश पनि उड्यो । बिहानीको उज्यालो खुल्दै गएको नेपालगन्ज अध्याँरो लाग्न थाल्यो । घरदेखि टाढाको ठाउँ त पुरै कालो भयो । आँखाबाट झरेको नुनिलो पानीले शरीर सिंचित थियो । जसरी समुद्रको नुनिलो पानीले बोटबिरुवा गल्छन्, त्यसरी नै नुनिलो आँसुले म गलेँ । निराश भएँ ।
त्यति नै निराश, जतिबेला बाले, 'आज रुपियाँ भयानुन् छोरा' भन्दै सुन्तला टिपी ल्याएदिएका हुन्नथे । त्यसपछि के भयौ ? आफै थाहा पाइहाल्नु भयाे । बाकाे मुख हेर्ने दिन कुसे औँशीकाे दिन बाकाे जीवन संघर्ष र ती छाेटा साथसंगतहरू झझल्काे ताजै बनेर आउँछन् ।
प्रतिक्रिया