खुला वडा स्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता हुने

खुला वडा स्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता हुने

रुकुम पश्चिम–  रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा खुला वडा स्तरीय महिला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले  खलंगाको बराहटाकुरामा असोज २० गते देखि २५ गतेसम्म खुला वडा स्तरीय “जनक–सुधन स्मृति रनिङ्ग शिल्ड महिला तथा पुरुष भलिबल २०८०” सञ्चालन गर्ने भएको हो । पूर्व खेलाडीद्धय जनक शाह र सुधन श्रेष्ठको सम्झनामा प्रतियोगिता आयोजना गरिएको रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम विएमले बताउनुभयो । शाह र श्रेष्ठको गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतियोगिता अन्तर्गत पुरुष तर्फको विजेताले नगद १ लाख ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने अध्यक्ष बिएमले बताउनुभयो । उहाँका अनुसार उपविजेताले नगद १ लाख १ हजार, कप, मेडल र प्रमाण–पत्र पाउँदा तृतीय स्थान हासिल गर्ने टिमले नगद ५१ हजार कप, मेडल र प्रमाण–पत्र पाउने छन् । विभिन्न विधागत तर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ । वेस्ट प्लेयरले १५ हजार बराबरको स्मार्ट फोन पाउँदा, उदयमान खेलाडी, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट स्पाइकर र वेस्ट सर्भरले समान २ हजार ५ सयका साथमा कप, मेडल र पमाण–पत्र पाउँने आयोजकले जनाएको छ । 

त्यस्तै महिला तर्फको विजेताले नगद ५१ हजार, रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाण–पत्र पाउँने छ । उपविजेताले नगद ३१ हजार तथा तेस्रो हुने टिमले नगद २१ हजार कप, मेडल र प्रमाणपत्र पाउने बताइएको छ । महिलाको विधागत तर्फ वेस्ट प्लेयरले नगद ५ हजार तथा उदयमान खेलाडीले नगद २ हजार कप, मेडल र पमाण–पत्र पाउने अध्यक्ष बुढाले बताउनुभयो । खेल शुद्ध वडास्तरीय हुने छ उहाँले बताउनुभयो ।

भलिबल प्रशिक्षण केन्द्रले विभिन्न प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । केही महिना अघि मात्र केन्द्रले कर्णाली प्रदेशकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

प्रतिक्रिया