अस्पतालमा एक सुत्केरीको मृत्यु

अस्पतालमा एक सुत्केरीको मृत्यु

सुर्खेत –   सुर्खेतको पञ्चपुरीकी एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी ३० वर्षीय जानकी रेग्मी अधिकारी रहेकी छन्।

उनको शल्यक्रिया गरिसकेपछि कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । उनका ससुरा तिलक‌ अधिकारीका अनुसार जानकी २९ गते अस्पतालमा भर्ना भएकी थिइन्‌। अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् ।

उहाँ भन्नुहुन्छ, ‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आइसियुमा राखियो । शनिबार उनलाई अस्पतालले एक्कासि मृत घोषणा गर्यो ।’

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको पीडितहरूको बुझाइ छ । बच्चा अहिले आइसीयुमै छ ।

प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैमा विडम्बना हो, उहाँले भन्नुभयो, के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म भनेको छैन ।

उनका अनुसार अस्पतालले आफूहरूलाई नयाँ घटना भएको र आफूहरू पनि अचम्मित भएको जवाफ दिएको छ । अहिले पीडितहरू अस्पतालमा छन् । शवको पोस्टमार्टम भइरहेको उहाँले बताउनुभयो  । मृत्युको कारण भने अहिलेसम्म अस्पतालले दिएको छैन ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने‌ घटनाको विषयमा समीक्षा हुन लागेको बताउनुभयो  । यद्यपि कारणबारे भने उहाँले आफूलाई जानकारी नरहेको बताउनुभयो  । समीक्षापछि मात्र घटनाबारे थाह हुने उहाँको भनाइ छ।

प्रतिक्रिया