संविधानका आठ वर्ष : ‘संविधानभन्दा सत्ता रक्षामा दलहरूको ध्यान’

संविधानले सम्पूर्ण राजनीतिक र संस्थागत आधारहरू तयार गरिसक्दा समेत दलहरूले नागरिकसँग गरेका वाचाहरू पूरा गर्न सकेका छैनन् । परिणामतः नागरिकमा असन्तुष्टि बढ्दो छ ।

संविधानका आठ वर्ष : ‘संविधानभन्दा सत्ता रक्षामा दलहरूको ध्यान’

काठमाडौँ –   गत असार २१ गते कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीका लागि दाबी पेस गरे । त्यसका लागि उनलाई सभामुख बाबुराम गौतमले पनि हस्ताक्षरयुक्त समर्थन दिएका थिए । सभामुखसहित ४७ सांसदको समर्थनमा दाबी पेस गरेका उनी त्यसै दिन मुख्यमन्त्री नियुक्त भए । थापाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ११ मा सो सरकार गठन प्रक्रियालाई असंवैधानिक ठहर गरिदियो ।

थापा सरकार ढलेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भयो । आवश्यक न्यूनतम सांसद संख्याको जोहो गर्न सभामुख गौतमले पदबाट राजीनामा दिए । पुनः थापाले मुख्यमन्त्रीमा दाबी पेस गरे । नियुक्त पनि भए । उनले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदै थिए । तर सभामुखले राजीनामा दिइसकेको र उपसभामुख ‘बिरामी भएर’ काठमाडौं प्रस्थान गरेपछि सभाको अध्यक्षता गर्ने जिम्मेवारी कांग्रेस सांसद इस्राइली मन्सुरीले पाए ।

उनले पनि मत दिएर थापाको पक्षमा बहुमत पुर्याइदिए । पुनः सर्वोच्चमा रिट पर्यो । भदौ २१ गते सर्वोच्चले मुख्यमन्त्री थापाले विश्वासको मत नपाएको ठहर गर्दै धारा १६८ ९३० अनुसारको सरकार गठनका लागि परमादेश जारी गर्यो । अहिले त्यहाँ एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री छन् । कोशी प्रदेश सभामा आफू अनुकूल समीकरण नहुँदा नहुँदै पनि कांग्रेस र माओवादी केन्द्र लगायतका दल सम्मिलित गठबन्धनले बलमिच्याइँ गर्दै थापालाई मुख्यमन्त्री बनाउन र टिकाउन जोड गरेको थियो ।

कतिसम्म भने, असार २१ गते दिउँसो काठमाडौंमा बसेको गठबन्धनको केन्द्रीय बैठकले सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने निर्णय लिएको थियो । सत्ता स्वार्थका अगाडि सभामुख निष्पक्ष हुनुपर्ने संवैधानिक अपेक्षालाई उनीहरूले बेवास्ता गरिदिएका थिए । संविधानमाथि प्रमुख दलहरूबाट भएको बलमिच्याइँको एउटा सन्दर्भ हो, कोशी प्रदेशमा थापा सरकार गठन र विघटनको प्रसंग । उल्लेखनीय पक्ष चाहिँ के छ भने, यसका निम्ति तिनै दलहरू अग्रसर भएका थिए, जसले एकाध वर्षअघि संविधानको रक्षाका निम्ति भन्दै गठबन्धन निर्माण गरेका थिए ।

र, यदाकदा आफूहरूको गठबन्धन संविधान रक्षाकै निम्ति निरन्तर रहेको बताउँछन् । तर उनीहरूको व्यवहारले त्यसको संकेत गर्दैन । बरु संविधानको मर्मको पालना गर्नेभन्दा पनि आफ्नो स्वार्थ पूरा गर्न बढी सक्रिय भएको देखिन्छ । प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव, राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयकको प्रमाणीकरण, रेशम चौधरीको रिहाइ, केही नेपाल ऐन संशोधन जस्ता पछिल्लो समय चर्चामा रहेका कतिपय घटनाहरूलाई संविधानविद्हरूले संविधानको मर्म विपरीत भएको भन्दै आलोचना गरिरहेका छन् ।

संविधानमाथि बलमिच्याइँ गर्ने सवालमा अहिले प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि कम छैन । सोही पार्टीबाट प्रधानमन्त्री भएका केपी शर्मा ओलीले आफ्नो कार्यकालमा दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए । दलभित्र आफू संकटमा परेको झोकमा उनले प्रतिनिधि सभामा प्रहार गरेका थिए । २०७७ पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएको थियो । त्यसपछि पनि प्रतिनिधि सभाप्रति कटाक्ष व्यक्त गरिरहेका उनले दोस्रो पटक २०७८ जेठ ७ गते राति पुनः विघटन गरेका थिए ।

दोस्रो पटक पनि उनको प्रयास असफल भएको थियो । संविधानविद् विपिन अधिकारी पहिलो पटक प्रतिनिधि सभा विघटन भएदेखि नै शासकीय स्थिरता अवरुद्ध हुन थालेको बताउँछन् । ‘प्रतिनिधिसभा विघटनको जुन पहिलो प्रयास भयो । त्यो दिनदेखि हामीमाझ रहेको जुन शासकीय स्थिरता थियो । त्यो क्रमशः अवरुद्ध हुँदै गयो,’ उनी भन्छन्, ‘अब यी ‘राजनीतिक निर्णयहरू’ संवैधानिकता र कानुनी हो कि होइन भन्ने विवाद पनि व्यापक रुपमा बढ्न लागे ।’ हुन पनि, पछिल्ला वर्षहरूमा राजनीतिक निर्णयको न्यायिक परीक्षणले तीव्रता पाउन थालेको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका दलहरूले संविधान निर्माणको नेतृत्व गरेका थिए । अन्तिम समयमा उनीहरूको एकता र दृढ प्रतिबद्धताले नै संविधान घोषणा सम्भव भएको थियो । माओवादी केन्द्रले त पछिल्लो संविधान सभाको जननी नै आफूलाई मान्ने गर्छ । त्यसैले उल्लेखित दलहरूबाट संविधान अनुकूल आचरणको अपेक्षा गरिन्छ । तर, उनीहरूकै एकपछि अर्को गतिविधिले संविधानमाथि नै संकट सिर्जना हुने हो कि भन्ने आशंका व्यक्त गर्न थालिएको छ ।

परिस्थिति यस्तो बनेको छ, एक अर्काले गर्ने असंवैधानिक कदमको विरोध गर्ने नैतिक बल सबैजसो प्रमुख दलहरूले गुमाइसकेका छन् । किनकि, संविधान जारी भएको आठ वर्ष पुग्दै गर्दा उनीहरू सबै असंवैधानिक गतिविधिमा संलग्न भइसकेका छन् । खासगरी सत्तामा रहँदा उनीहरूले संविधानमाथि बलमिच्याइँ गर्ने गरेका छन् । दलहरूले सत्ता स्वार्थलाई केन्द्रमा राखेर संविधानमाथि बलमिच्याइँ गर्ने गरेको भन्ने आरोपमा सत्यता रहेको राजनीतिक विश्लेषक डा उद्धव प्याकुरेल बताउँछन् ।

‘तर यो नौलो कुराचाहिँ होइन । सत्तामा हुँदा संविधानमाथि धावा बोल्नु नौलो होइन । किनकि, सत्तामा हुँदा म नै संविधान हुँ भन्ने लाग्छ,’ उनले भने, ‘नागरिक चेतनाले सिर्जना गर्ने दबाबबाट त्यस्ता कदमलाई सच्याउँदै जाने हो ।’ यही समयमा दलहरूले संविधानलाई आफ्नो अनुकूल व्याख्या गर्दै सत्ताको खेललाई जति तीव्रता दिएका छन्, सोही अनुसार नागरिकको हक स्थापित गर्ने सवाललाई भने बेवास्ता गर्दै आएका छन् । परिणामतः नागरिकका कैयौँ आकांक्षा मात्रै होइन, संविधानले नै सुरक्षित गरेका मौलिक हक पूरा गर्न पनि दलहरू उदासिन भएको देखिन्छ ।

जसका कारण त्यससँग सम्बन्धित कैयौँ कानुन बनेका छैनन् । अर्कोतिर संविधानले सम्पूर्ण राजनीतिक र संस्थागत आधारहरू तयार गरिसक्दा समेत दलहरूले नागरिकसँग गरेका वाचाहरू पूरा गर्न सकेका छैनन् । परिणामतः नागरिकमा असन्तुष्टि बढ्दो छ । कानुनमन्त्री धनराज गुरुङ जनताको चाहना संविधान मात्र नभइ समृद्धि पनि भएको बताउँछन् । ‘जनताको चाहनामा समुन्नति र समृद्धि जोडिएको छ । मुलुकलाई संविधानले परिकल्पना गरेअनुरुप जनताको जीवनमा समृद्धि ल्याउनका लागि काम गर्नुपर्छ’, उनको भनाइ छ, ‘खाली हातमा संविधान दिएर मात्र पुग्दैन । एउटा हातमा संविधान र अर्को हातमा समृद्धिका साथै समुन्नति हुनुपर्छ भन्ने मलाई लाग्छ ।’-सत्यपाटी

प्रतिक्रिया