देशमा कार्यकारी राष्ट्रपतिको महसुस भयो : मुख्यमन्त्री शर्मा

देशमा कार्यकारी राष्ट्रपतिको महसुस भयो : मुख्यमन्त्री शर्मा

सुर्खेत –  कर्णाली प्रदेश सरकारले बुधवार एक कार्यक्रम गर्दै संविधान दिवस मनाएको छ । वीरेन्द्रनगरमा आयोजित विशेष समारोहमा बोल्दै मुख्यमन्त्री राजकुमार शर्माले संविधान कुनै धर्मग्रन्थ नभएको बताउनुभयो । उहाँले देशमा अब प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतिको महसुस भएको सो क्रममा बताउनुभयो  । 

वर्तमान निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै शर्माले यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो  ।

साथै उहाँले संविधान कार्यान्वयन हुँदै जाँदा अपुगताहरू धेरै रहेको पनि बताउनुभयो । ‘अब नयाँ खालको सङ्घर्षको जरुरी छ, वर्तमान संवैधानिक अङ्गहरू असन्तुलन, प्रतिनिधि सभा विघटन लगायतका कारणहरू छन्,’उहाँले भन्नुभयो,‘ संविधान धर्मग्रन्थ होइन । प्राप्त संविधान, धर्मनिरपेक्षता, समावेशिता र दर्जनौँ मौलिक हक अधिकारलाई थप सुदृढीकरणको लागि एकताबद्ध हुन आवश्यक छ ।’ 

साथै शर्माले संविधानले निदृष्ट गरेको समानता, समृद्धि, सामाजिक न्याय, समाजवाद उन्मुख आर्थिक, सामाजिक प्रणाली सुनिश्चित गर्ने दायित्वमा अघि बढ्न पर्ने जिम्मेवारी रहेको पनि बताउनुभयो  । 

कर्णाली प्रदेशमा प्रचुर सम्भावना रहेको भन्दै शर्माले भन्नुभयो,‘ प्राकृतिक स्रोत, साधन, जल, जमिन, जंगल, जडीबुटी र जनशक्तिसहित प्रयोग र परिचालन गरेर मात्र प्रदेशको विकास उन्नतिमा लाग्नुको विकल्प छैन ।’

प्रदेश प्रमुख तिलक परियारले संविधानको रक्षा र व्यवहारमा प्रयोग गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । आत्मनिर्भर अर्थतन्त्र विकासमा मुलुकलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । 

‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि भ्रष्टाचार उन्मुलन अभियान र आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ,’ उहाँले भन्नुभयो  ।

प्रतिक्रिया