दैलेखमा चोरीको उद्देश्यले एटीएम तोडफोड

सीसीटीभी क्यामेरा अर्कोतिर फर्काएर एटीएमको मनिटर बाहिर झिकेको लगतै गस्तीकाे प्रहरी नजिकै पुगेकाे चाल पाएर तोडफोड गर्ने व्यक्ति भागेको

दैलेखमा चोरीको उद्देश्यले एटीएम तोडफोड
सुन्नुहोस्

दैलेखमा एउटा बैंकको एटीएम तोडफोड भएको छ । सदरमुकाम दैलेख बजारस्थित राष्ट्रिय बाणिज्य बैंकको गणेशचौकस्थित बैंकको एटीएमबाट रकम चोर्ने उद्देश्यले तोडफोड भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताउनुभयो । 

गएराति मुल सडकमै ताला फोडेर सटर खोली एटीएमको बाहिरी मनिटर झिकी रुपैंयाँ राखिएको ठाउँसम्म पुग्न लागेको बेला नियमित गस्तीकाे प्रहरी टाेलीले ५० मीटर नजिक मोटर साइकल रोकेको चाल पाएपछि तोडफोड गर्ने व्यक्ति भागेको प्रहरीको भनाइ छ । 

सटर खोली भित्र पस्दा सुरुमै सीसीटीभी क्यामेरा अर्कोतिर फर्काएको सीसीटीभी फुटेज रेकर्ड भएको प्रहरीले जनाएको छ । सीसीटीभी क्यामेरा अर्कोतिर फर्काएर एटीएमको मनिटर बाहिर झिकेको लगतै नियमित प्रहरी गस्ती नजिकै पुगेकाे चाल पाएर एटीएम तोडफोड गर्ने व्यक्ति भागेको बताइएकाे छ । 

रुपैंयाँ राखेको सतहमा पुग्नै लाग्दा चोरी हुन लागेको थाहा नपाएरै पुगेकाे गस्तीकाे प्रहरी टाेली नजिकै पुगेपछि तोडफोड गर्ने व्यक्ति भागेको तर सीसीटीभी फुटेज रेकर्डको आधारमा प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजी गरिरहेको प्रहरी निरीक्षक बिष्टले बताउनुभयो । 

एटीएममा राखिएको रकम दुरुस्तै रहेको तर एटीएम मेसिन चाहिँ सञ्चालन हुन नसक्ने गरी क्षति पुगेकोले मर्मतका लागि केन्द्रीय कार्यालयबाट प्राविधिक टोली आउने तयारी भएको राष्ट्रिय बाणिज्य बैंक दैलेखका प्रबन्धक कृष्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 


 

प्रतिक्रिया