स्वास्थ्य सेवा प्रवाहमा नारायण नगरपालिका जिल्लाकै सर्वोत्कृष्ट

स्वास्थ्य सेवा प्रवाहमा नारायण नगरपालिका जिल्लाकै सर्वोत्कृष्ट

दैलेख – स्वास्थ्य सेवा गुणस्तर र उपलव्धताको स्तरीकरण मापनमा जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिका जिल्लाकै सर्बोत्कृष्ट पालिकाको रुपमा सम्मान पाएको छ । स्वास्थ्य सेवा कार्यालयले आजोजना गरेको २ दिने वार्षिक समीक्षा कायर्यक्रमको अन्तिम दिन हिजो बुधबार सो कुरा जानकारी दिइएको हो । 

दैलेखका ११ वटै पालिका स्वास्थ्य संस्थाहरुले प्रवाह गरिएका सेवा बारे नियमित रिपोर्टिङ्ग, आमा समूहको वैठक तथा परिचालन, परिवार नियोजनका साधनहरुको उपभोग र स्वास्थ्य संस्थाहरुबाट नागरिकहरुलाई दिइएको सेवाहरुको स्तरीकरण गरिएको हो । 

पालिकाहरुले दिइरहेका स्वास्थ्य सेवा स्तरीकरण तथा मापनमा डुंगेश्वर गाउँपालिका दोश्रो, दुल्लू नगरपालिकाले तेश्रो स्थान हासिल गरी वार्षिक समीक्षा कायर्यक्रमको समापन कार्यक्रममा प्रमाणपत्र दिइएको स्वास्थ्य सेवा कार्यालय दैलेखका मेडिकल तथ्याँक व्यवस्थापक प्रकाश अधिकारीले जानकारी दिनुभयो । 

पालिकाका स्वास्थ्य शाखा प्रमुख र तथ्यांकीय प्रणाली सम्वन्धी काम गर्नेसमेत ११ पालिकाका दुई–दुई जना कर्मचारी सहभागी स्वास्थ्य सेवा सम्वन्धी वार्षिक समीक्षा कार्यक्रममा आगामी नियमित रिपोर्टिङ्ग, आमा समूहको परिचालन, परिवार नियोजन र स्वास्थ्य सेवाहरु सवलीकरण विधि विषयमा अभिमुखीकरण गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रसाद रेग्मीले बताउनुभयो । 

तालिम समापन कार्यक्रममा दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले उत्कृष्ट भएका पालिकाले पाएको सम्मान प्रतिष्ठा जोगाउन र कमजोर देखिएका पालिकाहरुले सेवा प्रभावकारिता बढाउदै आउँदो उत्कृष्टताको प्रयास गर्न सुझाव दिनुभयो ।

त्यसबखत दैलेख अस्पताल व्यवस्थापन समिति अध्यक्ष क्षेत्रप्रताप सुवेदी, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक भानु बस्याल र स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख डा. धर्मराज रेग्मीले पनि स्वास्थ्य सेवा प्रभावकारिता, स्वास्थ्यकर्मीको उत्तरदायित्व र तथ्याँकीय प्रणालीको महत्व बारे प्रकाश पार्नुभएको थियो । 

 
 

प्रतिक्रिया