शिक्षक आन्दोलन : माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त

शिक्षक आन्दोलन : माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त तस्बिर : गौरव पौडेल

काठमाडौं –  शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।

काठमाडौं महानगरले आन्दोलन जाने शिक्षक र विद्यालय बन्द भए प्रअलाई कारबाही गर्ने चेतावनीका बाबजुद उनीहरूले हिजै आन्दोलनमा सहभागी हुने निर्णय गरेका थिए ।

शिक्षकहरूको विरोध प्रदर्शनले काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ । आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक-शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।

शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।

विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।

प्रतिक्रिया