आज खर्चेको आधा दिन र निर्मलको उपचार पीर
पहिलो छोरा सरोज ८ वर्षको भए, माइलो र साइलो छोरा २–३ वर्षकाे हुदै मरे । कान्छो निर्मलकाे देब्रे खुट्टाको साप्रा ठ्यास्सै भाँचियाे ।
मीत्र समाज काठमाण्डौंले दैलेख अस्पतालमा असाेज ४ गते बिहीबारदेखि थालिएको चार दिने आँखा अप्रेसन शिविर उदघाटन कार्यक्रमको निम्ता पाए अनुसार पुगेर कार्यक्रमबाट फर्किनलाई नेपाल पत्रकार महासंघ दैलेख शाखा अध्यक्ष यज्ञराज थापाको मोटर साइकलको पछाडि सीटमा बसिसकेको बेला एक जना महिलाले ‘तपाई मोटरसाइकलबाट झर्नुस् जरुरी काम छ’ भनेर अस्पतालको ओपीडी बाहिरपट्टि पिठ्यूमा दूधे बालक बोकेकी महिलालाई देखाउदै भन्नुभयो ‘तपाई उहाँलाई मद्दत गर्नुस् ।’
पिठ्यूमा बालक बोकेकी ती महिला अरु केही कुरै नगरी ‘ड्वाँ ड्वाँ’ डाको छोडेर रुन थाल्नुभयो । उहाँ आफै बताउन सक्नेमा हुनुहुन्थ्येन तर नजिकका अरुले सुनाए उहाँको छोराको खुट्टा भाँचिएको छ, अस्पतालले बाहिर उपचार गर्न लैजाउ भनेर भनिसक्यो । उहाँसंगै दुई रुपैंयाँ छैन । मलाई चुरोकुरो थाहा भइसक्यो, उहाँ राेइरँदा यता उपचार गर्न अस्पतालमा जम्मा भएकाहरूका ठूलै भीड हुन थाल्याे । उहाँ रोइरहेको बेला सुरुमा सोधें ‘तपाइँले खाना खानुभयो ?’ उहाँँको जवाफ टाउको हल्लाएर मात्रै संकेत गर्नुभयो ‘नाई खाएको छैन ।’ भीडबाट टाढा लिई कुरा गर्ने र खाना खुवाउन दुवै काम गर्न एकै प्रश्नले सजिलो भयो ।
अस्पतालको क्यान्टिनमा लिएर खाना अर्डर गरें खाना आयो तर उहाँले पहिलो शव्द खान्न भन्नुभयो, अघि खाएको छैन भन्नुहुन्थ्यो, भोक लागेकै होला खानुस् भनी सकेपछि उहाँले भन्नुभयो ‘मसंग पैंसा छैन ।' प्रष्ट थियो, खाना खाए मैंले तिर्नुपर्छ होला भन्ठानुभयाे । यही बुझेर मैंले भनें ‘म आफै तिर्ने हो’ भनेर खाना अर्डर गरेको उहाँलाई भनिसक्नासाथ दोश्रो समस्या तेस्र्याउनुभयो ‘बच्चाको खुट्टो के पो हुने हो ? मैंले खाना खाएर के गर्नू ?’ सानो बच्चाको हड्डी लागिहाल्छ चिन्तै नगर्नुस् समयमा आउनु भएको छ निको हुन्छ, 'मद्दत गर्ने हामी छौं' यति भनिदिएपछि चाहिँ उहाँले खाना खानुभयो ।
खाना खानुअघि छोरालाई काखमा राख्न खोज्दा बच्चाले सुरुवालमा दिसा गरिसकेको रैछ, शौचालय देखाएर धुन लगाएँ । उहाँले खाना खाँदा बालकलाई पछ्यौराले बच्चाको तल्लाे शरीर ढाक्नुभयो । काखमा राखेर बालकलाई पनि भात खुलाउनुभयो, खाना थपेर खानुभयो । क्यान्टिनवालाले पनि मायाले खाना थपेको सम्वाद र हेराईबाट झल्किरहेको थियो । मैंले पहिले खाना खाइसकेकोले उहाँ खाँदै गर्दा बालकको खुट्टा भाँचिनुको कारण र पारिवारिक पृष्ठभूमी सोध्दै गरें ।
तपाइँको घर ? भगवतीमाई गाउँपालिका–५ कट्टी, दैलेख ।
नाम : उहाँको उत्तर - ‘जानकी बिक ।’
उमेर : २२ वर्ष ।
बालकको नाम र उमेर : निर्मल बिक, ११ महिनाको ।
तपाईको श्रीमान नाम, उमेर : सरोज बिक (२७) ।
यी कुन चाहिँ बच्चा ? उत्तर आयो - ‘चौथो ।’
प्रश्नोत्तरमा बताइए अनुसार उहाँको पहिलो छोरा सरोज ८ वर्षको भए, माइलो र साइलो छोरा २–३ वर्षकाे हुदै मरे । बाँचेको यो कान्छो निर्मललाई दाई चाहिँले साह्रै प्यारो गर्छन् । बुधवार असाेज ३ गते साँझ आगनमा खेल्दै गर्दा काँधमा चढाउन खोज्दा खसेर निर्मलकाे देब्रे खुट्टाको साप्रा ठ्यास्सै भाँचिएछ । असाेज ४ गते विहान सबेरै अस्पताल आउनलाई कट्टीबाट साथै पैदल आएका काका ससुराले बेस्तडाबाट अर्को कुन गाउँ जाँदा कपडाको जानकी र उहाँको छोराको कपडा भएको झोला समेत उतै लिइदिएपछि चाहिँ शरीरमा लगाएको कपडा बाहेक केही नलिई उहाँ सदरमुकाम आएर अस्पताल पुग्नुभएको तर अस्पतालले एक्स-रे र प्राथमिक उपचार सकेर राम्रो उपचारका लागि बाहिर जानुपर्छ भन्दिएपछि सबै आपत आइलागेको रहेछ ।
कुराकानीबाट थाहा भयो, ५२ वर्षीय उहाँका ससुरा शेरबहादुर शेरबहादुर कामी २४ वर्षीया अपाङ्ग छोरी बिष्णाको संरक्षणसंगै १६ वर्षका कान्छो छोरा नबिन जो मजदूरका लागि भारत गएका समेत अर्की सानी नन्द ८ कक्षामा पढ्ने १४ वर्षीया कल्पनाका साथ राखेर मानो छुट्टिएर बस्नुभएको छ । जानकीका श्रीमान सरोज गएको साउनमा भारतको हिमाञ्चलमा मजदूरी गर्न जानुभएको छ । एक महिना अघि मात्र गएकोले पैंसापानी केही छैन ऋणकर्जा गरेर उपचार गर्नू भन्ने फोनमा कुरा भएको सुनाउनुभयो ।
घरको हालत भन्दा झनै बिजोग माइतीमा छ, भगवतीमाई गाउँपालिका–४ बुङची, दैलेख माइती घरमा १२ वर्ष अघि दाजु अमर बिकको २८ वर्षको उमेरमा मलेसियामा आफैसंग गएका गाउँकै अर्को साथीबाट मलेसियामा हत्या भएकाे थियाे । २ वटा भतिजाहरु उनीहरुको मावलीमा छन्, भाउजुले दोश्रो विवाह गर्नुभयाे । बुबा बीरसिंह कामीको ४ वर्ष अघि ६२ वर्षको उमेरमा मृत्यू भयो । ६३ वर्षकी जानकीकी आमा घर कुरेर बस्नुभएको छ ।
जानकीको यति बिवरण थाहा भएपछि स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुख डा. धर्मराज रेग्मीलाई यी कुुरा बताएँ । उहाँले कर्णाली प्रदेश अस्पताल सुर्खेतका हाडजोर्नी बिशेषज्ञ डा. किशोर बिष्टलाई यो विषय जानकारी गराएर राम्रो उपचार गरिदिन फोनमा अनुरोध गर्नुसंगै अतिविपन्नलाई दिनसक्ने आर्थिक सहायता भित्र पाँच हजार नगद दिनुभयो । मैंले आफूले १५ सय रुपैंयाँ खर्च गरेर बालक र जानकीलाई कपडा किनेर दिएँ । पब्लिक गाडीमा चढाएर सुर्खेत पठाएँ ।
बिहीवार अर्थात असाेज ४ गतेदेखि आँखा उपचार शिबिर चलेको कारण चिकित्सकबाट रिफर चिठ्ठी, कार्यालय इञ्चार्जलाई अस्पतालबाट स्वास्थ्य सेवा कार्यालय दैलेखबाट आर्थिक सहायता जुटाउन, बालक तथा आमालाई कपडा प्रवन्ध गर्नदेखि पब्लिक गाडीमा चढाएर पठाउन समेत झण्डै आधा दिन खर्च भयो । यति खटनपटनले विहान भेटिंदा रुदै गरेकी जानकी पोशाक र मन पनि बदलियो अर्थात् मनाेवल बढाएर सुर्खेत जान तयार हुनुभयाे ।
उहाँलाई पठाउदा उहाँ सवार बा ५ ख ५१७५ का चालकलाई सुर्खेत बसपार्क पुगेपछि बसपार्कबाट कर्णाली प्रदेश अस्पताल जाने अटोरिक्सामा चढाई दिन भनेको छु । उहाँ त्यहाँ पुगेपछि भेट्नुपर्ने स्वयम्सेवी, डा. बिष्टको नम्वर समेत लेखी पठाएको छु । पुग्ने ठाउँसम्म त अलमल नपर्ला तर सुर्खेतमा चाहिँ मैंले दैलेखमा खटे जतिकै सहयोगी नपाए उपचारमा ढिलाई वा अलमल पर्ला कि भन्ने पीर थपिएको छ ।
प्रतिक्रिया