सर्लाही सदरमुकाममा चार दिनदेखि निरन्तर कर्फ्यु

सर्लाही सदरमुकाममा चार दिनदेखि निरन्तर कर्फ्यु

काठमाडौँ –  जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ। 

धार्मिक समूहका नाममा सामाजिक सद्‌भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि स्थानीय प्रशासनले गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।  

विगत चार दिनदेखिको निरन्तरको कर्फ्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान छ। गएको बिहीबार साँझदेखि मलंगवामा यातायात, बजार, पसल, कलकारखाना, सरकारी कार्यालय, होटल, स्कुल कलेज खुलेका छैनन्। 

अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।‘ यहाँ अझै पनि सुरक्षा सम्बेदनशीलता छ,’ सीडीओ यादवले भन्नुभयो, ‘त्यही भएर अहिले नै कर्फ्यु हटाउने अवस्था छैन ।’

गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवाऔ३ मा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो। झडपमा परेर ८ जना घाइते भएका छन् । उनीहरुमध्ये एक जनाको अवस्था गम्भी छ। 

मलंगवामा उत्पन्न विवाद समाधानको लागि गएको शुक्रबार सीडीओ कार्यालयमा सर्वपक्षिय बैठक बसेको थियो । उक्त बैठकले धार्मिक समूहको नाममा मलंगवामा साम्प्रदायिक सद्‌भाव विथोल्ने ढंगले भइरहेका गतिविधिविरुद्ध कडा रुपमा प्रस्तुत हुन स्थानीय प्रशासनलाई अनुमति दिएको थियो। 

सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्त्व विरुद्ध कडा प्रशासनिक कदम चाल्ने निर्णयसमेत गरेको थियो। 

बैठकले मलंगवा क्षेत्रका सबै मूर्तिहरु ठाउँमा राखेर विसर्जन गर्ने, घटनाका दोषीलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्ने, ब्रम्हपुरी गाउँपालिकामा तोडफोड गर्ने अराजक तत्त्वको पहिचान गरी पक्राउ गर्ने, घटनामा संलग्नहरुको शुक्ष्म ढंगले पहिचान गरी उनीहरुबाटै मानवीय तथा भौतिक क्षतिको क्षतिपूर्ति भराउने लगायतका निर्णय बैठकले गरेको थियो । 

मलंगवामा नियोजित रुपमा सामाजिक तथा साम्प्रदायिक सद्भाव बिथोल्न केही समूह लागेको निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ । सानो निहुँमा आगजनी र तोडफोड गर्ने, फरक धार्मिक समूहविरुद्ध गाली बेइजती र आक्रमण गर्न उनीहरु परिचालित हुने गरेका छन् । 

त्यस्ता केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी नरेशराज सुवेदीले बताउनुभयो । 
‘बिहीबार साँझको घटनापछि हामीले उनीहरुलाई विशेष निगरानीमा राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘केही पक्राउ परेका छन् । केहीलाई हामीले कार्यालयमा बोलाएर सोधपुछ गरिरहेका छौँ। घटनामा संलग्नहरुको सुक्ष्म रुपमा निगरानी गर्ने काम भइरहेको छ।’

आज दिउँसो बस्ने सर्वपक्षीय बैठकमा कर्फ्यु आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय हुने सीडीओ यादवले बताउनुभयो । स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेपछि त्यसविरुद्ध छिटपुट बाहेक ठूला प्रदर्शन भएका छैनन्। अव विस्तारै मलंगवाको अवस्था सामान्य हुने अपेक्षा स्थानीय प्रशासनले गरेको छ। 

प्रतिक्रिया