नेपाल मुस्लिम संघको महाधिवेशन आज, देउवाले उद्घटन गर्ने

नेपाल मुस्लिम संघको महाधिवेशन आज, देउवाले उद्घटन गर्ने

काठमाडौं –   नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको भातृसंस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो ।

संघका कार्यवहाक अध्यक्ष अतावुल मन्सुरका अनुसारदुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे गर्ने छन् । उद्घाटन कार्यक्रममा सभापति देउवासहित पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुल्लाह मन्सुर लगायतका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहने संघले जनाएको छ ।

महाधिवेशनमा ४१ जिल्ला र सातै प्रदेशबाट ४ सय २५ जना प्रतिनिधी सहभागी हुनेछन् । जसमा संघिय निर्वाचन क्षेत्र ४ भन्दा कम भएको जिल्लाबाट ५ जना, ४ भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाबाट ६ जना केन्द्रीय प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउनेछन् ।

त्यस्तै महाधिवेशनमा जिल्ला सभापति र सचिव समेत पदेन प्रतिनिधिका रुपमा सहभागी हुने संघले जनाएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । २०६५ सालमा कांग्रेस नेता अब्दुल सत्तारको नेतृत्वमा गठन भएको मुस्लिम संघले २०६६ सालमा पार्टीको भातृ संस्थाको मान्यता पाएको थियो ।

संघको पहिलो सम्मेलन २०६६ भदौमा तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए । संघका अध्यक्ष अब्दुल सत्तार  पार्टीको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उपाध्यक्ष रहेका अतावुल मन्सुरलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ  दाबेदारी रहेको छ । उनीहरू सबै सभापति देउवा निकट मानिन्छन् ।

प्रतिक्रिया