हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव

हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव

सिमकोट – कोदो खेती राम्रो हुने हिमाली जिल्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ। अन्तर्राष्ट्रिय कोदो दिवसको अवसरमा हिमाली जिल्लाको अर्गानिक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न महोत्सव गर्न लागिएको हो।

कृषि विकास कार्यालयका प्रमुख धर्म शाहीले कोदो उत्पादन राम्रो हुने हिमाली जिल्लामा कोदो महोत्सव गर्न लागिएको बताउनुभयो ।

कोदो बालीको संरक्षण, प्रवद्र्धन र यसको प्रचार प्रसारका लागि महोत्सव गर्न लागिएको उहाँले बताउनुभयो । जिल्ला बाहिरबाट कर्णाली प्रदेश सरकारबाट अतिथि आउने भएकाले यसको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

रैथाने कोदो बाली प्रवद्र्धन गर्न सके यसलाई जिल्लाबाहिर निकासी गर्न सके किसानलाई प्रत्यक्ष रुपमा फाइदा पुग्नेछ । महोत्सवमा स्टल निर्माण गरेर कोदोको परिकारसमेत प्रदर्शनी गरिनेछ।

कोदोबाट १५ भन्दा बढी परिकार तयार पारिनेछ। महोत्सवको भिडियो डकुमेन्ट्रीसमेत तयार पारिनेछ । अतिथिलाई स्वागतका लागि ब्याचसमेत कोदोकै निर्माण गरिएको छ भने चार जना कोदो खेती गर्ने किसानलाई पुरस्कृत गरिनेछ।

ब्याच र टपरीसमेत रैथाने सिम्पाटीको पातबाट निर्माण गरिनेछ। असोज १८ गते जिल्लास्तरीय कार्यक्रम सञ्चालन गरेर महोत्सव गर्न लागिएको हो।
हुम्ला जिल्लाका सात वटै गाउँपालिकामा एक हजार ३५० हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार ५४० मेट्रिकटन उत्पादन हुने गरेको छ।

प्रतिक्रिया