रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट दिइएको आममाफी र जिल्लामा खटिएका नेताहरूले पेस गरेको रिपोर्टको समीक्षा गर्न बैठक बोलाएको छ । बुधबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने प्रवक्ता डा. मुकुल ढकालले बताउनुभएको हो । 

कानुन र संविधानको उपहास हुने गरी गम्भीर फौजदारी अभियोग लागेका व्यक्तिहरूले समेत आममाफी पाएकोमा रास्वपाको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो  । ‘संविधान दिवसको अवसरमा राष्ट्रपतिले दिएको आममाफी र ऐतिहासिक दस्ताबेज लेखनका लागि जनताको आवाज सुन्न जिल्ला जिल्ला पुगेका नेताहरूले  पेस गरेको रिपोर्टको सम्बन्धमा समीक्षा हुन्छ’, उहाँले भन्नुभयो। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले असोज २ गते ६७० जनालाई बाँकी सजाय मिनाहा गरेका थिए ।  

गम्भीर फौजदारी अभियोग लागेका अभियुक्तलाई समेत आममाफी दिएको चौतर्फी आलोचना भएको थियो । यस्तै संविधान दिवसको अवसर पारेर रास्वपाले दस्ताबेज लेखनका लागि जनताको सुझाव लिन सभापति रवि लामिछानेसहित १९ जना नेताहरू जिल्लामा कटिएका थिए ।

प्रतिक्रिया