पहिरोमा विस्थापित परिवारलाई एकीकृत बस्ती हस्तान्तरण

ताप्लेजुङ– मैवाखोला गाउँपालिकाले पहिरोमा विस्थापित परिवारलाई अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको छ । गत असार २ गते वर्षाको कारण गएको बाढी र पहिरोले विस्थापित परिवारलाई सोमबार गाउँपालिकाले एकीकृत बस्ती हस्तान्तरण गरेको हो ।
वडा नं ४ ओदकस्थित शेर्पा बस्ती विस्थापित भएकाले अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वोमनले बताउनुभयो । उहाँको अनुसार ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास हस्तान्तरण गरिएको हो ।
साँघुस्थित निर्माणाधीन मदन भण्डारी स्मृति रङ्गशालामा उक्त अस्थायी आवास निर्माण गरिएको हो । पहिरोपछि गरिएको अध्ययनमा तत्काल सुरक्षित स्थानमा बस्ति स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको निष्कर्श निकालेपछी खुल्ला क्षेत्रमा अस्थायी आवास निर्माण गरेको उहाँले बताउनुभयो ।
कुल ६० दिनमा १ करोड ५० लाख लागतमा उक्त आवास निर्माण भएको उहाँले बताउनुभयो । तर, पालिकाको स्रोत २६ लाख ६० हजार रुपैयाँ मात्र खर्च भएको बताउनुभयो । पालिकाले विभिन्न दातृ संस्थासँग समन्वय गरेर ५५ लाख रुपैयाँ बराबरको निर्माण सामाग्री जुटाएको जानकारी दिनुभयो । ‘बाँकी स्थानीय स्रोत साधन, जन श्रमदान जुटाएर अस्थायी आवास निर्माण गर्यौँ,’ उहाँले भन्नुभयो ।
परिवार सङ्ख्या हेरी विभिन्न वर्गमा वर्गिकरण गरेर आवास कक्ष हस्तान्तरण गरिएको छ । एकिकृत बस्तीमा खानेपानी, शौचालय लगायतको सुविधा उपलब्ध रहेको उहाँले बताउनुभयो ।

लोप हुदै परम्परागत गहना

सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिने

अपाङ्गता भएका व्यक्तिप्रति सामाजिक दृष्टिकोण बदल्नुपर्छः मुख्यमन्त्री कँडेल

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

प्रतिक्रिया