वडा अध्यक्षसहित चारजना वन फडानीको आरोपमा पक्राउ

वडा अध्यक्षसहित चारजना वन फडानीको आरोपमा पक्राउ

रुकुम पश्चिम –   रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तुल्से ओलीसहित सोही वडाका चारजनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारका अनुसार पक्राउ पर्नेहरुमा वडा अध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ वर्षीय दिलबहादुर शाह छन् । वडा अध्यक्ष ओलीलाई आज मंगलबार, नेपाली र केसीलाई असोज ८ गते र शाहलाई भदौ २९ गते नै नियन्त्रणमा लिइएको बताइएको छ ।

अवैधरुपमा सामुदायिक वन फडानीको आरोपमा चारैजनालाई पक्राउ गरिएको हो । उनिहरु बिरुद्ध चौरजहारी नगरपालिका वडा नम्वर ११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रको रुख अवैध ढङ्गले फडानी गरेको आरोप छ ।

वन समूहले वन ऐन अनुसार कारबाहीको माग गर्दै सव डिभिजन कार्यालय चौफामा मुद्दा दायर गरेको थियो । आरोपी चारै जनालाई अदलतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालय रुकुम पश्चिमले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिएको हो ।

चौरजहारी नगरपालिकाको वडा नम्वर ११ को टाटाबाट सर्केना हुँदै जोगिनेतासम्म बिद्युत लाईन बिस्तार गर्ने क्रममा केही रुखहरु काटिएको बताइएको छ । वन कार्यालयको अनुमति बिना रुख काटिएपछि उहाँहरु बिरुद्ध मुद्दा चलेको हो । वडा अध्यक्षले रुख काट्न निर्देशन दिएको र अरु रुख काट्ने कार्यमा संलग्न भएको आरोप लागेको छ ।

प्रतिक्रिया