व्यवसायीहरुले सेवाग्राहीहरुप्रति जवाफदेहिता हुनुपर्छ : शाही

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले व्यवसायीहरुले इमान्दार र सेवाग्राहीहरु प्रति जवाफदेहिता हुनुपर्ने बताउनुभएको छ । आज दैलेख यातायात प्रालिको सेवा आरम्भ कार्यक्रमको उद्घाटन गर्दै उहाँले यातायात व्यवसायमा बलप्रयोग र गुनासो सुनुवाइमा बेवास्ता हुने गरेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देशकुमार श्रेष्ठले ठूलो बजार हस्तक्षेप गरेका व्यवसायीहरुसंग प्रतिस्पर्धा गर्न लागेको बेला दैलेख यातायात प्रा.लि.का लगानीकर्ताहरुको एकता र शालिनताले व्यवसाय प्रवद्र्धन हुनसक्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य भेषबहादुर थापाले समय अनुसार सवारी साधनहरुको आवश्यकता अनुसार समयमा मर्मत गरी दुरुस्त राख्न र सवारी चालकहरुलाई मदिरा लगायत औषध पदार्थको सेवन गर्न पूर्णरुपमा रोक्न आग्रह गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य मायाराम अधिकारीले सेवालाई गुणस्तरबृद्धि गर्न सुझाव दिनुभयो । त्यसबखत रास्वपाका प्रकाश बुढाले स्वच्छ प्रतिस्पर्धाको बाटो नभुल्न आग्रह गर्नुभयो । उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौडेलले स्थानीय व्यवसायीहरुलाई जिल्लाबासीले प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
ट्राफिक कार्यालय दैलेखका प्रतिनिधि दिलिप पौडेलले दैलेख सदरमुकाम यात्रा सञ्चालन हुन थालेको तीन दशक पुगिसक्दा पनि दैलेख–सुर्खेत स्थायी रुट प्रमिट नदिएको, ग्रामीण सडकहरु खुलिसकेर पनि रुट प्रमिट नपाएको कारण बेलाबेला सवारी दुर्घटनाको बेला सेवाग्राहीलाई झमेला भएको सुनाउनुभयो ।
कार्यक्रम दैलेख यातायात प्रालिका अध्यक्ष नमराज थापाको अध्यक्षमा भएको कार्यक्रममा कोषाध्यक्ष सुशिल महताराले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण रेडियो मातृभूमिका प्रवन्ध निर्देशक पत्रकार भीम सिजापतिले गर्नुभएको थियो ।
दैलेख यातायात प्रालिले आजैदेखि दैलेख–सुर्खेत १० वटा फोर्स गाडीबाट सेवा आरम्भ गरेको छ । सुरुमा थोरै संख्या भए पनि व्यापारमा स्थानीयको सहयोग र समर्थन पाएमा अरु गाडीहरु पनि थपेर जिल्लाका रुटहरुमा पनि चलाउने व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया