प्रधानमन्त्री छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

प्रधानमन्त्री छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

काठमाडौँ   –    चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लाग्नुभएको हो  ।

उहाँ स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहाँ स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।

बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल बिहीबार कैलाश मानसरोवरको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो  । त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नुभएको थियो  ।

प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलका सदस्यहरू शनिबार छेन्दुबाटै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया