भैंसी खरिदका लागि ३ लाख ५० हजार अनुदान

भैंसी खरिदका लागि ३ लाख ५० हजार अनुदान

सिन्धुपाल्चोक– बाह्रविसे नगरपालिकाले भैंसी पकेट कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । नगरपालिकाको वडा नं ४ मा भैंसी तथा दूध उत्पादनमा जोड दिँदै कार्यक्रमलाई निरन्तरता दिएको हो । 

पालिकाभन्दा बाहिरबाट खरिद गरेर ल्याइएका उन्नत जातका भैंसीलाई कार्यक्रममार्फत अनुदान उपलब्ध गराउने नगरपालिकाका पशु शाखाका अधिकृत पिताम्वर घिमिरेले बताउनुभयो  । उहाँका अनुसार यस आर्थिक वर्षमा वडा नं -४ का  १० वटा भैंसी खरिदको लागि अनुदानको व्यवस्था गरिएको छ ।

‘गत वर्ष एउटा भैंसी बराबर ३५ हजार रुपैयाँका दरले १० वटा भैंसीमा अनुदान उपलब्ध गराएका थियौँ । यस वर्ष ४० देखि ५० हजारसम्म अनुदान दिन सकिन्छ होला,’ पशु शाखाको लागि नगरपालिकाले यस वर्ष बजेट बढाएकाले अनुदान रकम पनि बढ्ने बताउनुभयो । सो अनुदान रकम भैंसी ढुवानी तथा गोठ सुधारको लागि पनि खर्च गर्न सकिने उहाँले बताउनुभयो  ।

 पाँच वर्षसम्म भैंसी खरिदमा अनुदानको कार्यक्रम सञ्चालन गर्ने योजना नगरपालिकाले बनाएको उहाँले बताउनुभयो । ‘अनुदान दिन थालेको दुई वर्ष भयो । पाँच वर्षमा ५ वटा समिति बनाएर अनुदान दिन्छौँ,’ उहाँले बताउनुभयो  । नगरपालिकामा घाँसको विउ वितरण, बाख्रा पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि यस आर्थिक वर्षमा रहेको शाखा प्रमुख घिमिरेले बताउनुभयो । 

यस वर्ष कृषि र पशुशाखाको लागि संयुक्त रुपमा १ करोड रुपैयाँ नगरपालिकाले छुट्याएको छ । विगतको तुलनामा यस वर्ष राम्रो बजेट विनियोजन भएको बताउनुभयो  । गत वर्ष पशु शाखाको लागि करिब ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो । 

प्रतिक्रिया