स्यार्पू महोत्सव सुरु, २१ गतेसम्म सञ्चालन हुने

स्यार्पू महोत्सव सुरु, २१ गतेसम्म सञ्चालन हुने

रुकुम –   रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा स्यार्पू महोत्सव सुरु भएको छ । महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो  ।

बिहिबारबाट सुरु भएको महोत्सव असोज २१ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको आयोजक बाँफिकोट गाउँपालिका रहेको छ भने व्यवस्थापक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम रहेको छ ।

स्यार्पूमा २०६७ साल असोज ११ गतेदेखि १५ गतेसम्म पहिलो पटक महोत्सव सञ्चालन भएको थियो । त्यसैको सम्झनामा आजबाट १३ औँ स्यार्पू महोत्सव सुरु भएको हो । पहिलो पटक महोत्सव लागेको सम्झनामा हरेक वर्ष असोज ११ गते देखि १५ गतेसम्म स्यार्पू ताल छेउमा मेला लाग्दै आएको थियो ।

यो वर्ष भने राष्ट्रिय कलाकार तथा व्यापारिक स्टल सहितको महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । स्यार्पू तालको पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्य सहित महोत्सव आयोजना गरिएको बताइएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा गायक बद्री पङ्गेनी, रामजी खाँड, सुप्रिम मल्ल ठकुरी, गायिका ज्योति मगर लगायतका राष्ट्रिय स्तरका कलाकारहरू आउने छन् ।

त्यस्तै महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू रहने छन् भने भलिबल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने उहाँले बताउनुभयो । महोत्सवमा स्थानीय झाँकीको रौनक समेत रहने बताइएको छ । आज उद्घाटन समारोह सञ्चालन भएमा भोली देखि सांस्कृतिक लगायतका कार्यक्रम सुरु हुने बताइएको छ ।

महोत्सवमा प्रवेशका लागि एक सय रुपैयाँ शुल्क लाग्ने देवकोटाले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा भोली गायिका अनु राना मगर र शर्मिला अर्यालले प्रस्तुति राख्नुहुने छ । 

आज एक कार्यक्रमका बिच महोत्सवको उद्घाटन भएको हो । गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख र प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णबहादुर बिसीको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी, अन्य जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, शिक्षक, विद्यार्थी, पत्रकार तथा स्थानीयको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया