एमाले अधिवेशन : बिहान ८ बजेदेखि मतदान सुरु
सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वको लागि भोलि विहान ८ बजेदेखि मतदान हुने भएको छ । ‘आज मतपत्र छपाइमा केही ढिलाई भयो, अब राती मतदान गन सम्भव छैन’ निर्वाचन समितिका सचिव रामबाबु विसीले भन्नुभयो, ‘अब भोलिमात्रै मतदान हुन्छ ।’
एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि तीन जनाको प्रतिस्पर्धा हुँदै छ । अध्यक्ष पदका लागि मीनबहादुर शाही, गुलावजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।
शुक्रबार अध्यक्ष पदका लागि पाँच नेताको उम्मेदवारी परेको थियो । तर अन्तिम अवस्थामा राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिनुभएको थियो ।
त्यस्तै सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले उम्मेदवार रुद्रबहादुर शाहीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित एक सय ३५ सदस्यीय कर्णाली प्रदेश समिति चयन गर्नेछ ।
प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिनुभएको थियो । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको हो ।
एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।
प्रतिक्रिया