बेपत्ता व्यक्तिको गाेपनीयता कायम गर्न जरूरी
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भेषबहादुर थापाले बेपत्ता व्यक्ति र बेपत्ता व्यक्तिको परिवारका सदस्यको सुरक्षा, सूचनाकाे गाेपनीयतता र आत्मसम्मानमा सम्वेदनशील हुन आग्रह गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाको आयोजनामा भएको बेपत्ता ‘परिवारिक सम्पर्क पुनस्र्थापना सेवा’ सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका सभापति निरञ्जन खत्रीले सीमित साधन श्रोतबाट पनि नेपाल रेडक्रस सोसाइटीले स्वतन्त्र र निष्पक्ष रुपमा मावनतावादी काम गर्दै आएको उल्लेख गर्दै बेपत्ता व्यक्तिहरुको खोजबीनमा पनि जुट्न रेडक्रसकर्मीहरुलाई आग्रह गर्नुभयो ।
त्यसबखत सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रमका जिल्ला संयोजक यामराज खड्काले जिल्लाका ११ वटै पालिकामा रेडक्रसकर्मीहरुले स्वयमसेवी रुपमा गर्दै आएका अरु कामहरु जस्तै बेपत्ता व्यक्तिहरुको खोजी कार्यमा सक्षम बनाउन ‘परिवारिक सम्पर्क पुनस्र्थापना सेवा’ बारे क्षमता विकासका लागि अभिमुखीकरण गरिएको प्रष्ट्याउनुभयो ।
११ वटै पालिकाका नेपाल रेडक्रस सोसाइटी उपशाखाका पदाधिकारी प्रतिनिधिहरु सहभागिता रहेको अभिमुखीकरण कार्यक्रमको सहजीकरण गोबिन्द आचार्यले सहजीकरण गर्नुभएको थियो । बेपत्ता व्यक्तिको पहिचान, प्रभावकारी खोजी सीप, परिवार र बेपत्ता व्यक्तिको मर्यादा र खोजकर्ताको सजगता बारे अभिमुखीकरणमा अनुभव आदानप्रदान भएको थियो ।
प्रतिक्रिया