भ्रष्टाचार रोकथाममा मिडियाको ठूलो भूमिका छ : काेइराला
दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले दण्डहीनता र भ्रष्टाचार रोकथाममा मिडियाको ठूलो भूमिका रहेको बताउनुभएको छ । रेडियो ध्रुवताराले आयोजना गरेको ५ दिने रेडियो उद्घोण तथा आधारभूत पत्रकारिता तालिम शुभारम्भ कार्यक्रममा बुधबार उहाँले सो विचार राख्नुभएको हो ।
‘हामीले सभा समारोह वा परिपत्रबाट १० जनाले थाहा पाउछन्, मिडियाले हजारौं–लाखौंलाई एकै पटक सूचना पुग्छ’ निमित्त प्रमुख जिल्ला अधिकारी कोइरालाले भन्नुभयो । मिडिमा आएको कुरालाई समाजमा विश्वास गर्ने भएकोले सरकारले गरेका राम्रा कामको प्रचार गर्न र सत्यतथ्य हो भने गलतलाई भण्डाफाेर गर्न पत्रकारहरुलाई उहाँले आग्रह गर्नुभयो ।
त्यसबखत नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नविन रिजालले सामाजिक सञ्जालमा आउने तथ्यहीन र भ्रमका सन्देशहरुले समाजलाई उत्तेजक बनाउने गरेको उल्लेख गर्दै मिडियाहरुले सकारात्मक र सन्तुलित रुपमा सूचना सामग्री प्रवाह गर्नुपर्ने सुझाव दिनुभयो ।
रेडियो ध्रुवतारा सञ्चालक समितिका अध्यक्ष नन्दकिशोर बस्नेतको अध्यक्षतामा भएको उद्घोण तथा आधारभूत पत्रकारिता तालिम शुभारम्भ कार्यक्रममा पूर्व जिविस सभापति टेकबहादुर खाँण, दैलेख उद्योग बाणिज्य संघका महासचिव प्रकाश पौडेल, रेडियोका लेखा समितिका संयाेजक राधा मल्ल र स्टेशन मेनेजर बिष्णु शर्माले पनि आमसञ्चार माध्यम र समाचार सन्तुलनको महत्व विषयमा बोल्नुभएको थियो ।
प्रतिक्रिया