हुम्लाको स्याउ प्रतिकेजी ४० रुपैयाँ मूल्य निर्धारण
सिमकोट – हुम्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको छ। यसअघि दानाका हिसाबले बिक्री भइरहेको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (स्याउ) का कार्यालय प्रमुख विष्णुबहादुर मगरातीले उपभोक्ताको मागअनुसार पहिलो पटक जिल्लामा स्याउको मूल्य निर्धारण गरिएको बताउनुभयो ।
जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थितिमा मूल्य निर्धारण गरेको हो। बैठकमा समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललगायतले स्याउ उत्पादन गर्ने किसानको उपस्थितिमा यो मूल्य निर्धारण गरिएको हो।
अब जिल्लामा स्याउको मूल्य प्रतिकेजी ४० रुपैयाँ तोकिएको बताउनुभयो । यसअघि हुम्लामा दानाका हिसाबले स्याउ बिक्री हुने गथ्र्यो । गाउँमा प्रतिदाना पाँच रुपैयाँ भए पनि सदरमुकाम सिमकोटमा भने प्रतिदाना १० रुपैयाँमा स्याउ बिक्री हुने गरेको थियो। यो मूल्य बेसिजनमा पनि उस्तै थियो। यसका लागि ६ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र ६ भन्दा बढी दाना प्रतिकेजीमा गए बि ग्रेड निर्धारण गरिएको छ।
यो मूल्य सदरमुकाम सिमकोटका लागि लागू गरिएको हो। सिमकोटबाहिर भने स्थानीय ढुवानी घटाएर मूल्य निर्धारण हुनेछ। उनले दानामा स्याउ बिक्री हुँदा उपभोक्ताबाट केजीमा स्याउ बिक्री गर्नुपर्ने र त्यसको मूल्य निर्धारण गर्नुपर्ने माग रहेकोमा अहिले त्यो माग पूरा भएको हो।
प्रतिक्रिया