चौकुनेमा गर्ल्स म्याटर परियोजना अभिमुखीकरण

चौकुनेमा गर्ल्स म्याटर परियोजना अभिमुखीकरण
सुन्नुहोस्

सुर्खेत – यूनिसेफको साझेदारीमा साेसेक नेपालद्वारा सञ्चालित भेदभाव सम्बोधन तथा पोषण, स्वास्थ्य र सामाजिक न्याय प्रवद्र्धन बालिका सशक्तिकरण (गर्ल्स  म्याटर) परियोजनाले गर्ने काम र सहकार्यका बारे सुर्खेतको चौकुने गाउँपालिका स्तरीय परियोजना अभिमुखीकरण कार्यक्रम गरिएको छ ।  

चौकुने गाउँपालिका अध्यक्ष खडक बिक विवसले पालिकाले तयार पारेका बालबालिका सम्वन्धी नीति तथा कार्यक्रमहरु प्रभावकारी र परिणामुखी बनाउन सहयोग बन्ने विश्वास व्यक्त गर्नुभयो । त्यसबखत सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले पालिकाकै कामलाई सघाउन परियोजना ल्याएको बताउनुभयो । 

अभिमुखीकरण कार्यक्रममा युनिसेफका लैंगिक समावेशीता तथा बाल संरक्षण अधिकृत कुङ्गा लामा, गर्ल्स  म्याटर परियोजना संयोजक शशीकला पाण्डे, सिनियर इञ्जिनियर राजेन्द्र जोशी, चौकुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले गर्ल्स  म्याटर परियोजना र गाउँपालिकासंग सहकार्य विषय बोल्नुभएको थियो । 

गर्ल्स  म्याटर परियोजना सन २०२३ सेप्टेम्बरदेखि एक वर्षका लागि दैलेखको दुल्लू नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकामा बालिका माथि हुने सबै किसिमका भेदभाव सम्बोधन तथा पोषण, स्वास्थ्य र सामाजिक न्याय प्रवद्र्धन समेत चार वटा सवालमा काम गर्ने बताइएको छ । 

बालिकाहरुको पोषिलो खाना, उचित शारीरिक स्वस्थता, स्वास्थ्य सेवामा सहज पहुँच, सामाजिक न्यायमा छाउपडी उन्मूलन, बालविवाह तथा लैंगिक हिंसा रोकथाम लगायत अभियानहरु सञ्चालन गरी समुदायमा बालिकाहरुको आत्मसम्मानको वातावरण तयार गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ । 

प्रतिक्रिया